खजुरामा किसानलाई बोयर क्रस बोका वितरण


लोकेन्द्र बहादुर बुढा,खजुरा : बाँकेको खजुरा गाउँपालिकाका बाख्रा पालन गर्ने किसानहरुलाई बोयर जातको बोका वितरण गरिएको छ ।

लुम्बिनी प्रदेश मुख्य मन्त्रि ग्रामीण रोजगार कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकाका आठ वटै वडाका किसानलाई समुह गठन गरि प्रजनन लागि बोयर क्रस बोका वितरण गरिएको पशु सेवा शाखा खजुराका प्रमुख रत्न बहादुर शाहिले जानकारी दिनुभयो । वितरण कार्यक्रमको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा प्रदेश सांसद बाबुराम गौतम रहनुभएको थियो ।

कार्यक्रमका सदस्य गेहेन्द्र घिताल र बिमला रिजालको सहभागितामा गाउँपालिकाका हरेक वडामा १ वटा बोका दिइएको थियो । एक बोकाले प्रजननका लागि वडामा २५० बढि बाख्रामा सेवा प्रदान गर्न सकिने पशु सेवा शाखाले जनाएको छ । बोका वितरण गर्दै सांसद बाबुराम गौतमले यो कार्यक्रम प्रभावकारी बनेमा थप नयाँ कार्यक्रमहरु गर्न सकिने गरि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले केहि स्थानहरुमा बोका वितरण कार्यक्रमले उपलव्धी हासिल गर्न नसकेको बताउदै खजुरामा किसानले सदुपयोग गरि प्रभावकारी बनाउन पर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बोका वितरण खालि वितरणका लागी सिमित नभएर उत्पादनमा वृद्धि हुने गरि प्रतिफल दिन सक्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष विकले स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भुमिका खेल्ने भएको हुदाँ पालिका स्तरमा बाख्रा उत्पादनको अवस्थालाई बृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वडा नम्बर २ का अध्यक्ष देविलाल खनालले किसानको माग अनुसार नै बोयर क्रस जातको बोका वितरण गरिएको बताउनुभयो । वितरण गरिएका बोयर क्रसका बोकाहरु बर्दिया बाट खरिद गरि ल्याइएको पशु सेवा शाखाले जनाएको छ ।

बोयरका उन्नत जातका पाठा पाठी उत्पादन गर्ने र किसानलाई अन्य जातको भन्दा बोयर जातको बोका खसिहरु बढि तौलका हुने, यस क्षेत्रको हावापानिमा उपयुक्त मानिएको, अन्य बाख्रा भन्दा यसमा रोग पनि कम लाग्ने, सामान्य स्याहार सुसारमा पनि हुर्कन सक्ने भएकाले पशु सेवा शाखाले किसानको मागलाई मध्यनजर गर्दै बोयरका बोकाहरु वितरण गरिएको शाखा प्रमुख शाहीले बताउनुभयो ।

प्रतिक्रिया