नेपालगन्ज : बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका बनाउँन नगरपालिकाले १५ हाइमास्ट लाइट जडान गरेको छ । विभिन्न दातृ निकायको दुई करोड सहयोगमा नगरका विभिन्न भागमा हाइमास्ट जडान गरिएको हो । हाइमास्ट जडान पछि शहर उज्यालो पनि भएकै छ । तर, उज्यालोको नाममा हाइमास्ट र विजुलीको चरम दुरूपयोग बढेको छ ।
कोहलपुर नगरपालिकाको लापरवाही प्रष्ट देखिदै आएको छ । कर्मचारीको मौनताले यतिबेला कोहलपुरका कतिपय स्थानमा रहेका हाइमास्ट रातीमा मात्रै होइन दिनभरी पनि बलिरहेका देखिने गरेका छन ।
नगरपालिका क्षेत्रमा जडान भएका हाइमास्टमा दिनभरी पनि विजुली निरन्तर बलिरहेको देखिएको छ । यसको रोगथाम तथा दिनमा विजुली निभाउने तर्फ नगरपालिका उदासिन छ । कोहलपुर नगरपालिका भित्र रहने हाइमास्ट लाइट दिनमा बलिरहेको फोटोहरु सामाजिक संजालमा केही शेयर गरेर नगरपालिकाको लापरबाहीको नमुना पेश गरेका छन् ।
नगरपालिकाका कर्मचारी मात्रै होइन सम्बन्धीत वडाका जनप्रतिनिधी र कर्मचारी तथा स्थानीय नागरिक समेत दिनमा बलेको हाइमास्टको विजुली बन्द गर्ने तर्फ मौन देखिने गरेका छन । यसले आबश्यकता भन्दा धेरै मात्रामा विद्यूत चुहावट भैरहेको छ ।
केही महिनाअघि हाइमास्टमा बत्ति बाल्नका लागि विद्युत प्राधिकरणको सहमति विनै विद्युत चोरीको आरोप लागेको नगरपालिका र विकास निर्माणलाई थाती राखेर सरकारी सम्पतिको चरम दोहनमा सक्रिय भएको आरोप खेपेको नगरपालिकाका भित्र पर्ने हाइमास्ट दिनमै बलिरहदा पुनः एक पटक आलोचनाको सिकार भएको छ ।











