नेपालगन्ज : त्यसो त पछिल्लो समय नेपालगन्जमा सशक्त ग्रुपको रुपमा चिनिएको ग्रुप हो टक्सार ग्रुप। नयाँ भिजनका साथ स्थापना भई टक्सार बचत तथा ऋण सहकारी संस्था संचालन गरिरहेको ग्रुपले अर्को नयाँ कार्यको थालनी गरेको छ।
शनिबार नेपालगन्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि टक्सार ग्रुपले “टक्सार रियल स्टेट प्रालि” संचालनमा ल्याउने घोषणासंगै उद्घाटन गरेको हो। नेपालगन्जका प्रतिष्ठित एवम् विज्ञ अनि अनुभवी व्यक्तिहरूको सहकार्यमा रियल स्टेट सुरु गरिएको कार्यक्रममा बताइएको थियो। थानेश्वर पाण्डेले संचालन गरेको उक्त कार्यकममा टक्सार रियल स्टेटको उद्घाटन संगै सेयर सदस्यहरुबीच परिचयात्मक पनि गरिएको थियो।

ईश्वर पोखरेल अध्यक्ष रहेको रियल स्टेटमा हाल ५९ जना सेयर सदस्य रहेको टक्सार रियल स्टेटका सचीव महेश्वर जोशीले जानकारी दिनुभयो। यसैबीच, सचीव जोशीसंग टक्सार रियल स्टेट प्रालिको बारेमा नागरिक समाजकर्मीले गरेको कुराकानी यसप्रकार छ :
१ ) टक्सार रियल स्टेटको अवधारणा कसरी आयो ?
नेपालगन्जमा हालसम्म जति पनि घर जग्गा खरिद एवम् बिक्री वितरण गर्ने रियल स्टेटहरु छन्, ती रियल स्टेटहरु अव्यवस्थित छन् । जसका कारण धेरै सेवा ग्राही ठगिने क्रम बढ्दो छ, दुख पाउने क्रम पनि बढ्दो छ। त्यसैले सहजै पारदर्शी तरिकाले छिटो उचित तरिकाले घरजग्गा खरिद बिक्री सम्बन्धि सरल सेवा दिने उद्देश्यले टक्सार रियल स्टेट सुरु गर्नुपर्छ भन्ने अवधारणा आएको हो।
२ ) टक्सार रियल स्टेटका उद्देश्यहरु के के छन् नि ?
मैले अघि पनि भनेँ पछिल्लो समय नेपालगन्जमा घर जग्गा खरिद बिक्रि कार्यमा धेरै बिचौलीयाको बिगबिगी बढ्दै गईरहेको छ। मुख्य त यही नराम्रो कार्यलाई न्यूनीकरण गरि सेवा ग्राहीलाई उचित तरिकाले सेवा प्रवाह गर्नु हाम्रो प्रमुख उद्देश्य हो। साथसाथै घर जग्गाको अव्यवस्थित खरिद बिक्री प्रक्रियालाई हटाई व्यवस्थित तरिकाले खरिद बिक्री गर्नुलाई हाम्रो टिमको उद्देश्य हो।
३ ) कतिजना सेयर सदस्यहरू आबद्ध हुनुहुन्छ ? अनि कुन क्षेत्रमा व्यक्तित्वहरु आबद्ध हुनुहुन्छ नि ?
हाम्रो योजना जम्मा १०१ जना सेयर सदस्य राख्ने हो। त्यसै अनुरुप हालसम्म ५९ जना सेयर सदस्यहरु हामीसंग जोडिसक्नु भएको छ। अब आबद्ध व्यक्तित्वहरुको कुरा गर्नुपर्दा रियल स्टेट संग लामो समयदेखि आबद्ध एवम् जानकारी विशिष्ट व्यक्तिहरू हाम्रो टिममा हुनुहुन्छ ।
४ ) अन्य रियल स्टेट भन्दा टक्सार रियल स्टेटमा के कुरामा फरक छ त ?
अब फरकपन कै कुरा गर्ने हो भने सबैभन्दा पहिलो कुरा त अन्य रियल स्टेट भन्दा यस् रियल स्टेटमा लामो समयदेखि अनुभव बटुलेका व्यक्तिहरू हुनुहुन्छ । अनि अन्य भन्दा छिटो एवम् सरल तरिकाले सेवाग्राहीले सेवा पाउनेछन् । त्यस्तै, हाम्रो गतिविधि एवम् सुचना पनि सेवाग्राहीले अनलाइनबाट सहजै प्राप्त गर्न सक्नेछन् । साथै, डिजिटल प्रविधिलाई हामीले अंगालेर अगाडि बढ्नेछौँ।
५ ) अन्त्यमा केही भन्नू छ कि ?
त्यस्तो भन्नू त केही बाँकी छ जस्तो लागेन। सबैकुरा तपाईंले सोधिसक्नु भयो। आज जुन हाम्रो नयाँ व्यवसायको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो त्यसको लागि नागरिक समाज टिमलाई धन्यवाद दिन चाहन्छु। अनि अन्त्यमा हाम्रो यस् टक्सार रियल स्टेटमा काम पनि सुरु भइसकेको सबैमा जानकारी समेत गराउन चाहन्छु।









