बुटवल :

बुटवल उपमहानरगपालिकाले महिलाहरूलाई उद्यमी, स्वावलम्बी र कामकाजी बनाउन विशेष अभियान सुरू गरेको छ । महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजना नामक कार्यक्रममार्फत यहाँका महिलाहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउने उपमहानगरको लक्ष्य छ ।
तालीम लिइरहेका र तयारीमा रहेका महिलाहरू, प्रशिक्षक, व्यवस्थापकहरूलाई उपमहानगरको सभाहलमा भेला गराएर अभिमुखीकरणसमेत गराइएको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानरगपालिकाका प्रमुख शिवराज सुवेदीले लैङ्गिक समता, प्रजनन स्वस्थता, जीवनोपयोगी शिक्षा तथा पुगिसरी सम्पन्नता र संस्थागत सहभागिताका लागि व्यावहारिक तालीमहरू सञ्चालन गरिएको बताए ।
महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजना त्यसैको एउटा रूप रहेको उनको भनाइ थियो । उपमहानगरले सीप सिकाउने मात्रै नभई सिकेको सीपलाई व्यवहारमा उतार्नसमेत सहयोग गर्ने प्रमुख सुवेदीले स्वावलम्बी नागरिक उत्पादनबाटै समृद्धि हासिल हुने बताए ।
बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमै महिलाको आयआर्जन बढाउने, आर्थिक पक्ष सुदृढ पार्ने र समतामूलक समाज निर्माणमा सबैको हातोमालो गराउने खालका कार्यक्रमहरू समावेश गरेको छ ।
कार्यक्रमले उपमहानगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने, महिला सशक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिकता प्रदान गर्ने, महिला हिंसा र लैङ्गिक असमानतालाई निरूत्साहित गर्ने, पहुँच स्थापना, समता, समानता, समविकास, सहकार्यात्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख आचार्यको भनाइ छ ।
बुटवलका उत्पीडनमा पारिएका तथा भान्छामा सीमित रहन बाध्य पारिएका महिलालाई जनचेतनामूलक कार्यक्रमसँगै सीप विकास र आयआर्जनमूलक काम सिकाइने बताए । लैङ्गिक विभेदको अन्त्य, समाजमा व्याप्त कुरीतिहरू (जस्तै—दाइजो, बोक्सी, छाउपडी, जातीय विभेद, बालविवाह, बहुविवाह, अनमेल विवाह) का विरुद्ध समुदायलाई सहकार्यमा राख्दै बुटवलमा उपप्रमुखको संयोजकत्वमा लैंगिक हिंसामुक्त नगर घोषणाका लागि विशेष अभियान सञ्चालनमा छ ।
लैङ्गिक समानता ल्याउने, समावेशीकरणको भावना बढाउने, कुरीतिजन्य परम्पराको अन्त्य गर्नका लागि तीनै तहका सरकार, निजीक्षेत्र र नागरिक समाजको सहकार्यमा कार्यक्रमहरू अगाडि बढाइएको उपप्रमुख तथा न्यायिक समितिका संयोजक आचार्यले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले महिलालाई अलग राखेर वा छुट्याएर समृद्धि हासिल हुन नसक्ने हुनाले विकासका कार्यक्रममा महिलालाई समावेश गर्दै समृद्धिको अभियानमा सरिक बनाइएको बताए ।
बुटवल टेक्निकल इन्ष्टिच्युटका कार्यकारी निर्देशक प्रधुम्नलाल (पीएल) श्रेष्ठले उपमहानरगरपालिका र यूएनडीपीले सञ्चालन गरेको तालीमलाई बीटीआईमार्फत व्यवस्थापन गर्ने अवसर दिएको भन्दै सफल पार्ने प्रतिवद्धता व्यक्त गरे ।









