नेपालगन्जमा इभेन्ट: केही दर्ता नै छैनन् केही पैसा कमाउ धन्दामा

टिप्पणी

रामु ओली, नेपालगन्ज : इभेन्ट भइरहनु कुनैपनी शहरको लागी राम्रो हो । शहरमा राम्रा र ठुला इभेन्ट हुनुले त्यो शहरको माहोल संगै ब्यापार ब्यवसायमा केही हद सम्मलाई भए पनि टेवा पुराउदछ ।

नेपालगन्जमा सम्पन्न भएका कयौं इभेन्टहरुले नेपालगन्जलाई अन्य शहरसंग जोडेका छन् । त्यस्ता इभेन्टले शहरको ब्यवसायलाई फाइदा मात्रै होईन नेपालगन्जले ठुला इभेन्ट गर्न सक्छ भन्ने संदेश समेत दिन्छ, जसले नेपालमा हुने ठुला इभेन्टहरु नेपालगन्जमा आएर गरौ भन्ने भावनाको बिकास गर्न मद्दत पनि गर्छ ।

…तर पछिल्लो समय नेपालगन्जमा ठुला इभेन्टहरु एक्का दुक्का मात्रै भएका छन् त्यो पनि सरकारी निकाय जोडिएको । त्यो बाहेक प्राइभेट सेक्टरबाट हुने इभेन्टहरु गुणात्मक रुपमा लगभग शून्य जस्तै बनेको छ । तर यसो भनिरहदा नेपालगन्जमा इभेन्ट नै नभएका होइनन्, कोरोना कहर संगै बन्द भएका इभेन्टहरु कोरोना कहर कम भए संगै एकाएक सुरु भएका छन् ।

अझ विशेषगरि नेपालगन्जमा ट्यालेन्ट शो, सौन्दर्य प्रतियोगिता र मोडेल हन्ट जस्ता र त्यस्तै प्रकृतिका इभेन्टहरु भैरहेका छन् तर दुखको कुरा त्यस्ता इभेन्टले नेपालगन्जको साख गुमाउदै गएको सर्वसाधारणको बुझाई छ ।

त्यस्ता इभेन्टबाट उत्पादित मोडेल, ट्यालेन्ट वा अन्य विजेताले उलेख्य प्लेटफर्म नपाएको र प्रतियोगिता समेत गुपचुपमा हुने र नेपालगन्जबासीले समेत थाहा नपाउने गरि आयोजना हुँदा त्यस्ता प्रतियोगिताबाट बनेका विजेताले स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुनै अवसर पाउछन् भन्नेमा संका उत्पन्न हुन्छ । जसले गर्दा त्यस्ता प्रतियोगिता वा इभेन्टले नाम भन्दा बदनाम कमाउदै गएका छन् ।

अझ नेपालगन्ज शहरको नामले गरिने त्यस्ता प्रतियोगिताको विजेता नेपालगन्जमै अपरिचित बनिदिदा त्यस्ता प्रतियोगिता आयोजनाको औचित्यमै प्रश्न चिन्ह समेत आउने गरेको छ ।

शहरमा इभेन्ट हुनुको कयौ फाइदा छन् तर त्यस्ता इभेन्टले सकारात्मक सोच र सकारात्मक अवसर नदिएर कमाउ धन्दामा मात्रै लाग्दा नेपालगन्जमा इभेन्ट (ट्यालेन्ट शो, सौन्दर्य प्रतियोगिता र मोडेल हन्ट जस्ता प्रतियोगिता) प्रतिको बुझाई फरक बन्दै गएको छ ।

स्कुले विद्यार्थी र टिन एजरलाई लक्ष्यित हुने त्यस्ता प्रतियोगिताले अविभावकलाई अनावश्यक तनाव समेत दिने गरेको छ । अक्सर त्यस्ता प्रतियोगिता आयोजकले प्रतियोगितामा भाग लिनको लागी रजिस्ट्रेसन फी र ट्रेनिङ फीको नाममा ठूलो रकम असुल्ने र फाइनलमा टिकट बिक्री गराउन लगाउने परिपाटीले गर्दा अविभावकलाई थप आर्थिक भार समेत पर्ने गरेको गुनासो आउने गर्छ ।

टिकट बिक्रीको आधारमा पब्लिक च्वाइस वा त्यस्तै शिर्षकमा अवार्ड राख्ने र त्यसको लागि भारी मात्रामा टिकट बिक्रीका लागि प्रतियोगिलाई मानसिक दबाब सृजना हुने र विद्यार्थीहरु पढ्ने समयमा टिकट बिक्रीको तनाव लिएर हिड्ने गरेको कारण नेपालगन्जमा बिगत केही बर्ष देखि यस्ता इभेन्ट आलोचित बन्दै गएको छ ।

अझ केही त्यस्ता इभेन्ट आयोजना गर्ने कम्पनी नै दर्ता बेगर नै संचालनमा रहेको भन्ने समेत भैरहेका छन् , जसले गर्दा नेपालगन्जको साख र ब्यापारलाई इभेन्टले माथी उठाउनुको साटो खस्काउने धारण नेपालगन्जबासीले राख्न थालिसकेका छन् ।
दर्ता नै नभएको अबैधानिक संस्था वा कम्पनीले संचालन गरेको इभेन्टले कसरी शहरको (नेपालगन्ज) को नाम संगै ब्यवसायलाई माथी लैजाला आफैमा प्रमुख प्रश्न रहेको छ । तर यसको अर्थ नेपालगन्जमा भएका वा संचालन हुँदै आएका सबै इभेन्ट दर्ता बेगरका छन् वा सबै इभेन्ट मात्र पैसा कमाउ धन्दामा छन् भन्ने मनसाय पक्कै होईन तर राम्रा इभेन्ट पनि छन्, जो सफल पनि छन् तर होटेलको एउटा हल भित्रै आयोजना भएर सकिने केही इभेन्टले भने त्यस्ता इभेन्टको ब्यापारलाई समेत चौपट् पारेको छ ।

कतिपय आयोजकले प्रतियोगिताको विजेतालाई दिने भनेर घोषणा गरेका अवसर र पुरस्कार समेत नदिएको गुनासो आउने गरेको छ । यी र यस्ता इभेन्टले नेपालगन्जको “इभेन्ट भबिष्य”लाई कहाँ पुराउला ?

प्रतिक्रिया