काठमाडौँ :


बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने भएको छ ।

कोरोना भाइरसबाट अति प्रभावित चीनको हुबेई प्रान्तमा रहेका नेपालीहरूको उद्धार गर्न शनिबार सूचना प्रकाशित गर्दै दूतावासले निर्णय गरेको हो ।

यसका लागि विशेष चाटर्ड विमानको तयारी भइरहेको नेपाली दूतावासले जनाएको छ ।हुबेई प्रान्तभित्रका वुहानसहित विभिन्न शहरमा रहेका नेपालीहरू सङ्क्रमित नरहेको बताइएको छ ।
यसको लागि हुबेईमा रहेका नेपालीहरूले आवश्यक फाराम भर्नुपर्ने र उक्त फाराम दूतावासको वेबसाइटमा उपलब्ध रहेको दूतावासले विच्याटमार्फत सूचना दिइसकेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए ।
भारतले भने वुहानमा रहेका आफ्ना नागरिकहरुलाई आज स्वदेश फर्काएको छ । यसका लागि ४२३ सिटे जम्बो प्लेनको व्यवस्था गरिएको थियो । एयर इन्डियाको विशेष विमानबाट ३२४ जना भारतीय नागरिकहरु घर फर्केका हुन् ।
उनीहरुलाई दिल्लीमा रहेको इन्डो टेबटन बोर्डर पुलिस छ्वाला क्याम्प र हरियाणाको मनेसरमा रहेको आर्मी क्याम्पमा मेडिकल निगरानीमा राखिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।














