सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी २० गाई जलेर मरेका छन् । गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
सो फार्ममा ६० मध्ये २० गाई जलेर मरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अन्य १० गाई घाइते र ३० हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए । आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको दाम्लो काट्दासमेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको प्रहरीले बतायो ।










