लुम्बिनी प्रदेश कृषि अनुसन्धानसंग सहकार्य गर्न तयार

खजुरा : लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आफ्नो मन्त्रालय कृषि अनुसन्धान निर्देशनालयसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजनामा रहेको बताउनुभएको छ ।

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराको आयोजनामा आज खजुरामा भएको दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रविधिमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको अवस्थामा अनुसन्धानको क्षेत्रमा काम गरिरहेका कार्यालयहरुसंग सहकार्य गर्ने योजनामा मन्त्रालय रहेको बताउनुभयो । कम्तीमा एउटा जिल्लामा एउटा स्रोत केन्द्र बनाउने तयारी मन्त्रालय रहेको जानकारी समेत दिनुभयो ।

नीति कार्यान्वयनमा समस्या हुँदा अपेक्षित परिणाम नदेखिएको बताउनुभयो । मन्त्रालयका सचिव रेवतीरमण पौडेलले अनुसन्धानबाट आएका नयाँ नयाँ प्रविधिहरु ग्रहण गरेर मन्त्रालय मातहतका कार्यालयमा प्रविधि हस्तान्तरण गर्न इच्छुक रहेको बताउनुभयो । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका निर्देशक अमर बहादुर पुनले मन्त्रालयसंग सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

उहाँले आवश्यकता अनुसार मूल बीउ र स्रोत बीउ उपलब्ध गराउने बताउनुभयो । कोषेवाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा.राजेन्द्र दराईले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश निर्देशनालय मातहतका कार्यालय प्रमुख र प्रतिनिधिहरुको सहभागिता थियो ।

दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठीमा विभिन्न कार्यालयहरुले आ-आफ्ना कार्यालयहरुको प्रगति विवरण प्रस्तुत गरेको कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका प्राविधिक अधिकृत तथा सूचना अधिकारी रविन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया