नेपालगन्ज : सम्भवत सबैले लेख्दा, भन्दा वा कोरोना संग सम्बन्धीत बैठकको निर्णय गर्दा नेपालगन्ज कोरोनाको उच्च जोखिमको शहर भन्ने गरेका छन ।
के साच्चै नेपालगन्ज कोरोनाको उच्च जोखिममा छ त ? खुल्ला सिमाना, भारत संग जोडिएको सिमानाका भएकै कारण भारतबाट आउए र भारत जाने क्रम चल्ने हुँदा नेपालगन्जलाई धेरै जोखिमको शहर भनिन्छ । त्यो स्वभाविक पनि हो । तर नेपालगन्जलाई कोरोनाको उच्च जोखिमको शहर भन्ने, गृह तथा स्वास्थ्य मन्त्रालयले स्वास्थ्यको मापदण्ड पूरा गर, हुलभिड नगर, सभा तथा भिड रहने कार्यक्रम नगर भनेर भन्दा समेत नेपालगन्जमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले समेत कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै जिल्लामा सबै किसिमको सावधानी अपनाउने, क्वारेन्टाइन सुचारु गर्ने, सिमानाकामा कडाई गर्ने जस्ता कुरा निर्णय गरेको छ संगै डिसिसिएमसीले चैत्र ११ गते गरेको निर्णय अनुसार निर्णय नम्बर चारमा लेखिएको छ , अत्यावश्यक बाहेकका सभा सम्मेलन र भेला आयोजना नगर्ने भनेर निर्णय गरेको छ ।
तर जिल्लामा सभा भएकै छन्, भिडभाड समेत भएकै छ । अझ त्यो भन्दा महत्त्वपूर्ण कुरा नेपालगन्जमा महोत्सव नै लागेको छ तर पनि प्रशासन मैन छ । प्रशासनले आफैले गरेको निर्णय कार्यान्वयनको लागि कुनै तदारुकता देखाएको छैन ।











