
पोखरामा प्रथम राष्ट्रिय न्युरो सम्मेलन गरिएको छ ।
मणिपाल मेडिकल कलेजको २५ औं बार्षिक उत्सबका अवसरमा नेपाल न्यूरो सर्जिकल सोसाइटी, मणिपाल मेडिकल कलेज एवम् ब्रेन एण्ड स्पाइनल फाउण्डेशन नेपालको आयोजनामा प्रथम मनिपाल न्युरो सम्मेलन सम्पन्न भएको छ ।
मंसिर २७ र २८ गते गरिएको सम्मेलनमा पहिलो दिन भारतका प्राध्यापक डा. सतिशचन्द्र गोरे र प्राध्यापक डा. रविन्द्रनाथ कोमी तथा मणिपाल मेडिकल कलेजका न्युरो सर्जरी विभागका सह- प्राध्यापक डा.बालगोपाल कर्माचार्य र डा.निकुञ्ज योगीको टोलीले बेहोस नबनाई दुरबिनबाट गरिने ढाडको अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको डा.योगीले जानकारी दिनुभयो ।

सम्मेलनको दोस्रो दिन नेपालका प्रथम न्युरो सर्जन स्वर्गीय डा.उपेन्द्र देवकोटाको सम्झनामा विशेष कार्यक्रम गरिएको थियो ।
दोस्रो दिनमै ५३ वटा क्लिनिकल रिसर्चका बारेमा सहभागीहरु बीच छलफल गरिएको डा.योगीले बताउनुभयो ।
मणिपाल मेडिकल कलेजका डिन डा.बिएम नागपाल तथा नेपाल न्युरो सर्जिकल सोसाइटीका अध्यक्ष डा.कृष्ण शर्माले दिप प्रज्ज्वलन गरी शुरु गर्नुभएको राष्ट्रिय न्युरो सम्मेलनमा नेपालका देश विदेशका गरी करिब १ सय ३० जना न्युरो सर्जन, न्युरोलोजिष्ट, स्पाइनल सर्जन, फिजियोथेरापिष्ट र नर्सहरुको सहभागिता थियो ।
सम्मेलनमा नेपालका बरिष्ठ न्युरो सर्जन डा.बसन्त पन्त, डा.निलम खड्का, डा- कृ्ण्ण शर्मा, न्युरोलोजिष्ट डा.लेखजंग थापा लगायत सहभागी हुनुहुन्थ्यो ।
बेहोस नबनाई दुरबिनको प्रयोग गरेर ढाडको अप्रेशन गरिएका विरामीहरुले आफूहरु अप्रेशन लगत्तै हिंड्डुल गर्न सकेको र कुनै दुःखाई महसुस नगरिएको बताएका थिए ।
देशकै दुर्लभ यसखाले अप्रेशनका लागि मणिपाल मेडिकल कलेजले पनि छिट्टै यो प्रविधिको सुरुवात गर्ने प्रतिबद्धता जनाएको छ ।
कलेजका डिन डा.नागपालले सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभएको न्युरो सर्जन डा.योगीले बताउनुभयो ।
उक्त कार्यक्रम सञ्चालनमा काठमाण्डौंको न्युरो हस्पिटलका डा- रचना नकर्मी लगायतको टीमले सक्रिय भूमिका खेलेको थियोे ।









