नेपालगन्जमा कोरोनाको दोस्रो लहर ठट्टा मात्रै !

टिप्पणी

रामु ओली : कोरोना संक्रमणको दोस्रो लहर आउने र त्यसबाट नेपाल उच्च जोखिममा रहेको कुरा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र देश भरका जिल्ला प्रशासन कार्यालय र सिडिओको मातहतमा रहेका जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले भन्दै आएका छन् ।

भारतमा कोरोनाको दोस्रो लहर संगै दैनिक नयाँ रेकर्ड ब्रेक गर्दै कोरोना पोजेटिभ केसहरु देखिएको र त्यो संगै भारतमा रोजगारमा पुगेका नेपालीहरु घर फर्कने क्रम बढेको छ ।

भारतमा कोरोनाको दोस्रो लहर देखा पारे संगै सिमावर्ती शहरले सिमानाकामा हेल्प डेक्स राखेर कोरोना परिक्षण गर्दा भारतबाट नेपाल आउनेहरुमा कोरोना संक्रमण देखा परेको छ ।

सरकारले नै कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने चेतावनी दिदै सजग रहन सुचना जारी गर्नु, भारतबाट नेपाल फर्कनेमा कोरोना पोजेटिभ देखा पर्नु अनि नेपालगन्जको माहोलमा कुनै तालमेल मिलेको छ जस्तो देखिदैन ।

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएर मृत्युु संग लडेर फर्केका ब्यक्ती वा उसको परिवारलाई र कोरोनाकै कारण ज्यान गुमाएकाको परिवारलाई थाहा छ कोरोना के हो ? तर अन्यको लागि भने हौवा भन्दा अर्थोक पक्कै होइन जस्तो लाग्छ नेपालगन्जको माहोल हेर्दा । यति सम्मकी सिडिओको मातहतमा रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले नै गरेको निर्णय लत्याउने तर त्यो समितिमा बस्नेहरुका लागि पनि कोरोनाको दोस्रो लहर हौवा भन्दा अरु थोक केही होईन ।

नेपालगन्जमा कोरोना संक्रमणको दोस्रो लहरको खबर संगै त्रास फैलिएको छ । त्रास संगै करिबकरिब शून्य जस्तै बनेको कोरोनाको ग्राफ पनि बढेको छ । आजका दिनमा कोरोना संक्रमणको दर बाँकेमा पुनः बढ्दै गएको छ ।

तर कोरोना संक्रमणको ग्राफ बढे पनि जनचेतना, सजगता र स्वास्थ मापदण्डका कुराहरू भने पत्रीकाका बिज्ञापनमा भन्दा अन्त देखिदैन ।

बजारका भिड, होटेलका सेमिनार हलमा भएका कार्यक्रम, मेला महोत्सव, राजनैतिक कार्यक्रम र सरकारी स्तर देखि नै हुने गरेका भिडका दृश्यहरुले लाग्छ नेपालगन्जमा कोरोनाको दोस्रो लहर ठट्टा मात्रै हो !

भेरी अस्पतालले निकाल्ने कोरोना संक्रमितको आकडा फर्जी हो !  सिडिओको मातहतमा रहेका जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले दैनिक दिने सुचना र कोरोना पोजेटिभ भएको संख्या त्यो पनि फर्जी हो ! अनि नेपालगन्ज उपमहानगरपालिकाले सिमानाकामा हेल्प डेक्स राखेको पनि सायद कुनै काम नपाएर नै होला ! हैन त ?

यदि साच्चिकै यी कार्य भएका थिए , कोरोनाको ग्राफ बढेको भए सायद सिडिओले गरेको आफ्नै निर्णय प्रती उदासिन पक्कै हुने थिएनन् । जनता सजग हुमे थिए । नेपालगन्जका ठुला हलहरु भरिभराउ हुने पक्कै थिएनन् । बेगर मास्क सर्वसाधारण बेफिक्री पक्कै हुने थिएनन् ।

फेरि यि शब्दहरू लेखी रह्दा वा भनी रहदा कोरोनाको पहिलो लहरमा जस्तै देश पुरै लकडाउन गर्नु पर्छ । शैक्षिक संस्था र ब्यवसायमा ताला मार्नु पर्छ । त्रासपुर्ण दिनहरु बिताउनै पर्छ भन्ने आसय भने पक्कै होईन ।

कोरोना संक्रमण रोक्न, कोरोनाको दोस्रो लहर नेपाल वा नेपालगन्ज छिर्न नदिन, उस्तै भयावह स्थिति सृजना हुन नदिने लकडाउनको बिकल्प सहितको उपायको खोजी भने पक्कै हुनुपर्ने छ । आर्थिक क्रियाकलाप चलायमान गराउदै दैनिक जिवनयापन गर्दै कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डका उपायहरु अपनाउनु भने पक्कै छ । अन्यथा बिश्वका कयौ देश कोरोनाको दोस्रो लहरको चपेटामा परिरहेको बेला नेपालले पुनः कोरोनाको अर्को लहर थेग्न पक्कै सक्दैन । 

प्रतिक्रिया