फोटो : तेज ओलीको फेसबुकवालबाट

नेपालगन्ज : नेपालगन्ज वा समग्र बाँके जिल्ला कोरोना कहरको लागी एक बर्ष अगाडी समग्र मिडियाको केन्द्रमा रह्यो । त्यसको एउटै कारण भनेको एक पछि अर्को गर्दै कोरोना हटस्पटको रुपमा बाँकेका स्थानिय तहले परिचय पाए ।

भारत संगको सिमानाकाको कारण नेपालगन्ज कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

गत बर्ष जस्तै यो बर्ष पनि कोरोना कहरको उस्तै त्रास लिएर संक्रमण बढेको छ । खुल्ला सिमाना, भारतबाट नेपाल फर्कनेको संख्या बढ्नु र भारतबाट नेपाल आउने ब्यक्तिहरुमा कोरोना संक्रमण देखिनुले समेत यो बर्ष पनि कोरोनाको त्रासले नेपालगन्जलाई घेर्ने अनुमान गरिएको छ ।
कोरोनाको उच्च जोखिममा रहेको नेपालगन्ज उपमहानगरपालिकाले सिमानाकामा अत्याधुनिक हेल्थ डेक्स राखेर संकास्पद रहेकालाई परिक्षण गर्दै आएको छ तर नेपालगन्जको दैनिकी भने लापरबाहीपुर्ण छ, जसले गर्दा नेपालगन्ज पुनः कोरोनाको चपेटामा पर्दैन भन्ने मान्न सकिन्न ।

यता दैनिक कोरोना संक्रमणको दर उकालो समेत लाग्दै छ भने धेरै दिन यता बिहीवार नेपालगन्जमा उपचारार्थ एकको मृत्युु समेत भएको छ ।मृत्युु हुनेमा मधुवन -८, बर्दिया निवासी ३८ वर्षीय संक्रमित पुरुष रहेका छन् । योसंगै बाँकेमा जिल्ला भित्र र जिल्ला बाहिरका १ सय ४६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
बाँकेमा बिहीवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार मात्रै भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । ४१ जनामा परिक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।
बाँकेमा शून्य जस्तै बनेको कोरोना संक्रमण दर पुनः उकालो लागिरहेको छ । तर कोरोना संक्रमण ग्राफ उकालो लागे पनि जनस्तरमा कुनै सावधानी अपनाइएको छैन । दैनिकी उस्तै लापरबाहीपुर्ण छ, यहि समयमा पत्रकार महासंघको चुनाव सम्पन्न भयो र हजारौं दर्शकले नेपालगन्जमा महोत्सव समेत भरे । त्यस्तै बाकेमा विभिन्न राजनैतिक दलका कार्यक्रम र अन्य थुप्रै कार्यक्रम हल भित्र भैसकेको अवस्थामा दैनिक रुपममा कोरोनाको ग्राफ उकालो लागेको छ ।
त्यसतर्फ नत प्रशासनले चासो देखाएको छ नत कुनै सम्बद्ध निकायले त्यसतर्फ ध्यान दिनसकेको छ ।

कोरोनाको पहिलो लहर कडाई गर्दा गर्दै समेत कोरोनाको इपि सेन्टर बनेको बाँकेका केही स्थानहरु र दैनिक रुपमा भएका मृत्युदर कहालीलाग्दो हुँदा हुँदै पनि कोरोनाको दोस्रो लहर आएको संकेत र सावधानीका लागि गरिएको मन्त्रालयको आव्हान समेतलाई लत्याउदै स्थानिय प्रशासन र स्वास्थ्य सम्बद्ध निकायहरु मौन जस्तै देखिएका छन् ।
उता छिमेकी राष्ट्र भारतका केही राज्यहरूमा दैनिक ५० औं हजारको संख्यामा कोरोनाका पोजेटिभ केस देखा पर्दै गएको छ । कोरोनाको पहिलो लहरको रेकर्ड समेत तोड्दै कोरोना पोजेटिभ केसको मामिलामा दैनिल नयाँ रेकर्ड कायम गर्दै महामारीको सिकार भैरहेको छ भारत । त्यस्तोमा भारत संग खुल्ला सिमाना रहेको नेपाल र नेपालगन्ज कोरोनाको उच्च जोखिममा रहेको छ ।












