ठाकुरद्वारा(बर्दिया) । ग्रामीण तथा स्थानीय कुखुरा प्रबद्र्धनका लागि स्थानीय तहहरु तथा अन्तर प्रदेशसंग समन्वयात्मक गोष्ठी बार्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।
कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा भएको समन्वयात्मक गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका स्थानीय तह तथा अन्तर प्रदेश कार्यालयहरुबाट सहभागिता रहेको थियो । गोष्ठीमा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
लुम्बिनी प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख तुलसीराम भण्डारी, सुदुरपश्चिम प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख डा.हेमराज अवस्थी र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक डा.जितेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा कुखुरा विकास फार्मका प्रबन्ध डा.शंकर न्यौपानेले फार्मले गरिरहेका गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो । डा.न्यौपानले चालू आर्थिक बर्षमा ७७ लाख राजश्व संकलन भएको जानकारी दिनुभयो ।
उहाँले यस अवधिमा २ लाख चल्ला उत्पादन भइसकेको समेत बताउनुभयो । गोष्ठीमा सहभागीहरुले समुदायमा ग्रामीण कुखुराको माग अत्याधिक रहेकाले चल्ला उत्पादनको क्षमतालाई थप बढाउनुपर्नेमा जोड दिएका थिए ।

तीन वटै प्रदेशमा ग्रामीण कुखुरा पुर्याउन सहकार्यमा पनि जोड दिइएको थियो । उनीहरुले सरकारी चल्ला किसानले नपाउँदा महंगो मूल्य तिर्नुपरेको भन्दै उत्पादन क्षमतालाई बढाउन सुझाब दिएका थिए । गोष्ठीमा बोल्दै प्रमुख अतिथि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख भण्डारीले लुम्बिनी प्रदेश कुखुराको मासु र अण्डामा आत्मनिर्भरको अवस्थामा रहेको बताउनुभयो । उहाँले ग्रामीण कुखुराको बजारीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कृष्णा कुमारी थारुले ग्रामीण कुखुरालाई प्रबद्र्धन गर्न आवश्वक रहेको भन्दै समन्वय र सहकार्यमा जोड दिनुभयो । उहाँले हरेक स्थानीय तहले ग्रामीण कुखुरा प्रबद्र्धन र व्यवसायीकरणमा यथेष्ट बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जका प्रमुख डा.माधव अर्यालले रैथाने कुखुराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
गोष्ठीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख डा.प्रवेज आलम लगायत स्थानीय तहका कर्मचारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गोष्ठीको अध्यक्षता पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा.हरि बहादुर कुँवरले गर्नुभएको थियो ।










