नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले शुक्रबार देखि कोभिड आइसियु र आइसोलेसन संचालनमा ल्याएको छ ।
शिक्षण अस्पताल कोहलपुरले शुक्रबारबाट १५ बेडको आइ.सि.यु तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालन गरेको हो ।
जिल्लामा कोरोना संक्रमणको दर र मृत्युु दर तिब्र रुपमा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै कोभिड आइसियु तथा आइसोलेसन वार्ड संचालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले जनाएका छन् ।
कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको जनतामा प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर कम भए संगै कोभिड वार्ड हटाएको थियो । केही हप्ता देखि बाँके संगै देशभर नै कोरोना संक्रमणको दोस्रो लहर संगै अकल्पनीय रुपमा कोरोना संक्रमितको संख्या बढे पछि नेपालगन्ज मेडिकल कलेजले पुनः कोभिड वार्ड संचालनमा ल्याएको छ ।












