नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले आफुले संचालन गरेको स्वास्थ्य कार्यक्रमको समिक्षा गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको दुई दिने स्वास्थ्य समिक्षामा विगत ६ महिना अघिको अवस्था र हाल सम्म गरेका कामहरुका बारेमा समिक्षा गरेको हो । समिक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले प्रस्तुत गर्नुभएको अर्धवार्षिक प्रगतिका बारेमा छलफल गरिएका थिए ।
हाल सम्म सम्पन्न भएका कार्यक्रम र देखिएका समस्याको बारेमा गहन छलफल भएको स्वास्थ्य शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो । समस्या समाधानका लागी आगामि कार्ययोजना निर्माण गर्ने उदेश्यले आयोजना गरिएको समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले भएका कमिकमजोरीलाई सुधार गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
प्रमुख कक्षपतिले स्वास्थ्य शाखा अन्तर्गत दिइने सेवा सुविधा सन्तोषजनक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक वडामा स्वास्थ्य सेवा चुस्त बनाउन निर्देशन समेत दिनुभएको थियो । गाउँपालिकाका सामाजिक विकास संयोजक फत्ते कुमारी जैसीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा वडाध्यक्षहरु, वडा सदस्य, स्वास्थ्यकर्मि पत्रकार लगाएतको उपस्थिती रहेको थियो । समिक्षा कार्यक्रम भोलि सम्म चल्नेछ ।










