नेपालगन्ज : सद्भाव मिडिया नेपालद्वारा सन्चालित नेपालगन्जको रेडियो सद्भाव ९१.२ मेगाहर्जले सोमबार आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ। छोटो समयमै पश्चिम् क्षेत्रमा अत्याधिक लोकप्रिय बन्न सफल यस् रेडियो वि.सं. २०७४ वैशाख ६ गतेबाट प्रशारण सेवा सुरु गरेको थियो।

दक्ष एवम् अनुभवी टिमद्वारा संचालित यस् रेडियोले एफएम ब्यान्डमा मात्रै नभएर डिजिटल माध्यमबाट प्रशारण सेवा संचालन गरिरहेको छ। चौथो वर्ष सफलताका साथ पार गर्दै पाँचौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोमबार एफएम प्राङ्गणमा रेडियो स्टाफहरुको साथमा एक कार्यक्रमको आयोजना गरिएको थियो।

भव्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाउने योजना भएतापनि कोरोना कहरका कारण सिमित व्यक्तिहरुको साथमा मनाउनु परेको बाध्यता आइपरेको रेडियोका स्टेसन प्रमुख नवीन गिरीले बताउनुभयो ।
त्यस्तै, छोटो समयमै स्रोताले दिएको अत्याधिक मायालाई आत्मसाथ गर्दै आगामी दिनमा अझै मनोरञ्जनात्मक कार्यक्रमसंगै थप सुचानामुलक , जानकारीमुलक एवम् ज्ञानवर्धक कार्यक्रमहरु थपिने रेडियोका स्टेसन कोर्डिनेटर समिरमान श्रेष्ठले बताउनुभयो।

साथै, सत्य-तथ्य सुचना सहितका समाचार स्रोतामाझ प्रसारण गरिने कुरामा अझै मिहेनत गर्नेमा रेडियोकी समाचार वाचक रजनी योगीको जोड थियो। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको यस् विषम परिस्थितिमा इलेक्ट्रोनिक संचार माध्यम स्रोतामाझ निकै उपयोगी भएको साथै यस्तो विषम परिस्थितिमा त रेडियोको झन उपयोगी रहेको रेडियोका प्रबन्ध निर्देशक दामोदर भण्डारीको भनाइ थियो।











