चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण छैन: चिनियाँ राजदूत

काठमाडौँ :

चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण छैन: चिनियाँ राजदूत

चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण नभएको बताएकी छन् ।

चिनियाँ दूतावासले मंगलबार सञ्चार माध्यमलाई दिएको जानकारीमा राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको प्रष्ट पारेकी छन् । उनले चीनमा रहेका सबै नेपालीहरू सुरक्षित रहेको बताइन् ।

 उनले चिनियाँ परराष्ट्र मन्त्रालयको एक डिभिजन बेइजिङमा रहेको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र वुहानमा रहेका नेपाली विद्यार्थीको कठिन अवस्थालाई समाधान गर्न सहयोग गरेको पनि बताइन् ।

चीनको हुबेइ प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको फैलिएको हो । त्यहाँ रहेका करिब १ सय ८० नेपाली विद्यर्थाीहरूले बेइजिङस्थित नेपाली राजदूतावासमा नेपाल फर्कनका लागि आवेदन दिएका छन् ।

राजदूत होउले सम्बन्धित प्रान्त र सहरमा विदेश मन्त्रालयले अधिकारीहरू तथा सम्बन्धित विश्वविद्यालयहरूले विद्यार्थीहरुलाई उचित बसोबासको व्यवस्था मिलाएको पनि बताइन् ।


यस्तै, राजदूत होउले नेपाल सरकारले आफ्ना नागरिकलाई चीनबाट ल्याउने योजना बनाएको भए चीनले आवश्यक सहयोग गर्ने तर त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण कुराहरुको तयारी गर्नुपर्ने बताइन् ।

‘यदि नेपाली पक्षले आफ्ना नागरिकहरुलाई ल्याउने भए, हाम्रो सल्लाह के छ भने नेपालको सम्बन्धित पक्षले पूर्ण रुपमा तयारी भइ विमानस्थलमा क्वारेन्टाइन, भाइरसको रक्षा र नियन्त्रणसहित नेपालमा हरेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सल्लाह अनुसार काम गर्नुपर्छ,’ उनले भनेकी छन्। – कान्तिपुरबाट

प्रतिक्रिया