काठमाडौं । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ को सुटिङ सकिएको छ । दिनेश राउतको निर्देशनमा बनेको यस फिल्मको सुटिङ जुम्लामा गरिएको थियो ।
फिल्मको सुटिङ ४२ दिनमै सकिएको निर्माण टिमले जनाएको छ । फिल्ममा प्रदीपको जोडीमा रेनु योगी रहेकी छिन् ।
उनले यसै फिल्म मार्फत अभिनेत्रीको रुपमा डेब्यू गरेकी छिन् । फिल्मको प्रस्तुति र क्यारेक्टरसँग मिल्ने भएकाले रेनुलाई यस फिल्ममा अनुबन्ध गरिएको हो ।
‘मितज्यू’ नामक नाटक खेलेकी रेनुको अभिनय दर्शकले रुचाएका थिए । फिल्ममा प्रदिपले गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् ।
फिल्ममा प्रदिप र रेनु बाहे दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् ।









