नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।
सोमबार बाँकेमा १ वर्षका बालक र ७० बर्षिय वृद्ध बुवा सहित ३४५ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।
डिसिसिएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सोमबार १५५ महिला र १९० पुरुष गरि ३४५ जना डिस्चार्ज भएका हुन् ।
उता आइतबार बाँकेमा १४२ जना महिला र १६३ जना पुरुष गरि जम्मा ३०५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका थिए ।
बाँकेमा पछिल्ला केही दिन यता कोरोना संक्रमण मुक्त भएर घर फर्कनेहरुको संख्या समेत दैनिक आउन थाले पछि भने जिल्लाबासीमा केही राहतको महसुस भएको जानकार बताउने गर्छन् । नकारात्मक समाचार मात्रै पाएको बाँकेबासीले भने केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका डेटाहरु समेत हेर्न पाएका छन् ।
त्यस्तै बाँकेमा जारी लकडाउन एक हप्ताको लागि बढाइएको छ ।
यस अघि डिसिसिएमसिको बैठकले बाकेमा लकडाउन गर्न सिफारिस गरे संगै बैशाख १३ गते राती १२ बजे देखि २० गते राती १२ बजेसम्मलाई लकडाउन गरिएको थियो ।
सो लकडाउनलाई बढाएर जिल्ला प्रशासन कार्यालय बाँकेले २७ गते राती १२ बजेसम्म पुराएको छ ।
प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेर लकडाउनको बारेमा जानकारी दिएको छ ।











