बाँकेमा कोरोना जित्ने बढ्दै, मंगलबार ३४२ जना कोरोना निको भई डिस्चार्ज

फाइल फोटो

नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।

मंगलबार बाँकेमा ७१ वर्षका वृद्ध सहित  ३४२ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

डिसिसिएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मंगलबार १६० महिला र १८२ पुरुष गरि ३४२ जना डिस्चार्ज भएका हुन् ।

केहिदिन यता बाँकेमा दैनिक  कोरोना संक्रमीत निको भइ डिस्चार्ज हुनेको संख्या दैनिक बढ्दै गएको छ । उता सोमबार पनि ३४५ जना कोरोना संक्रमीत निको भइ डिस्चार्ज भएका थिए भने आइतबार बाँकेमा १४२ जना महिला र १६३ जना पुरुष गरि जम्मा ३०५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका थिए ।

बाँकेमा पछिल्ला केही दिन यता कोरोना संक्रमण मुक्त भएर घर फर्कनेहरुको संख्या समेत दैनिक आउन थाले पछि भने जिल्लाबासीमा केही राहतको महसुस भएको जानकार बताउने गर्छन् । नकारात्मक समाचार मात्रै पाएको बाँकेबासीले भने केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका डेटाहरु समेत हेर्न पाएका छन् ।

त्यस्तै बाँकेमा जारी लकडाउन एक हप्ताको लागि बढाइएको छ ।

यस अघि डिसिसिएमसिको बैठकले बाकेमा लकडाउन गर्न सिफारिस गरे संगै बैशाख १३ गते राती १२ बजे देखि २० गते राती १२ बजेसम्मलाई लकडाउन गरिएको थियो ।

सो लकडाउनलाई बढाएर जिल्ला प्रशासन कार्यालय बाँकेले २७ गते राती १२ बजेसम्म पुराएको छ ।

प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेर लकडाउनको बारेमा  जानकारी दिएको छ ।

प्रतिक्रिया