महावीर पुनको परियोजनाको लागि नेपालगन्ज ग्यालरीले सुरु गर्‍यो सहयोग अभियान

नेपालगन्ज – सूचना प्रविधि अभियन्ता महावीर पुनको परियोजनाको लागि नेपालगन्ज ग्यालरीले ह्याज्ट्याग ‘नेपालगन्जग्यालरीमहाबिरपुनलाइसहयोगगरौअभियान’ सुरु गरेको छ।

नेपालगन्ज ग्यालरीका एडमिन समिरमान श्रेष्ठका अनुसार मंगलबारबाट सुरु गरिएको आर्थिक संकलन अभियानको पहिलो दिन मंगलबार २० हजार रकम संकलन भएको छ।

सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताउनु भएको थियो।

उहाँले विदेशमा बस्ने नेपालीले ५, १०, १५ लाख जति सक्छन्, त्यति ऋण दिन सक्ने पनि बताउनु भएको छ । उहाँले ३ वर्षमा ऋण तिर्ने पनि प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ । ऋण दिन चाहनेले mahabir@nicnepal.org सम्पर्क गर्न सकिने पुनले जनाउनु भएको छ ।

नेपालगन्ज ग्यालरीले अभियन्ता पुनको परियोजनाको लागी सुरु गरेको अभियानमा सहयोग गर्न इच्छुक ब्यक्तिहरुले ९८५८०२३६४५ मा सम्पर्क गर्न वा अधिक जानकारीको लागी नेपालगन्ज ग्यालरीका सक्रिय सदस्य विवेक श्रेष्ठलाई सम्पर्क गर्न सक्ने समेत बताइएको छ ।

महावीर पुनले ३ वर्ष पछि रकम फिर्ता दिने बताउनु भएता पनि हामी उहाँले गर्नुभएका कार्यको सम्मान गर्दै सहयोग गर्ने प्रयासमा रहेको र रकम पछि फिर्ता लिने मनसाय नभएको ग्यालरीका एडमिन समिरमान श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार यदि उहाँले मान्नुभएन र फिर्ता नै गर्नुभएमा अहिले सहयोग गर्नुहुने सम्पूर्ण मनकारी सदस्यहरुलाई फिर्ता गरिने छ, जसको लागि सहयोग गर्नुभएका र गर्नुहुने सबै सहयोगदाताको नाम लिस्ट राख्ने र अथवा विगतका जस्तै विभिन्न सामाजिक कार्यमै खर्च गर्ने बताएका छन् ।

विभिन्न समयमा रक्तदान कार्यक्रम , बाढी पीडितको लागि सहयोग , मृगौला पिडित अमित दर्जीको अभियान मार्फत आर्थिक सहयोग समेत गरिसकेको ग्यालरीले सामाजिक संजालबाट नै नेपालगन्जमा निरन्तर रुपमा समाजिक कार्य गर्दै आएको छ ।


प्रतिक्रिया