नेपालगन्ज वडा नम्बर एकले घरमै स्वास्थ्यकर्मी पठाएर संक्रमितको उपचार गर्ने

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ ले २५ बैशाखदेखि होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन लागेको छ ।

होम आइसोलेशनमा रहेका संक्रमितलाई परामर्श सहित औषधि, स्वास प्रस्वास र ज्वरो नाप्ने उपकरणका साथै अन्य स्वास्थ्य सामग्री प्रदान गर्न लागिएको वडा अध्यक्ष प्रमोद रिजालले बताए ।

उनले होम आइसोलेशनमा रहेका संक्रमितको स्वास्थ्य परीक्षण तथा परामर्शका लागि चिकित्सक र स्वास्थ्यकर्मीको टोली संक्रमितको घर–घरमा पुग्ने बताए ।

‘संक्रमितको स्वास्थ्य प्रति हामी चिन्तित छौँ । चिकित्सकको टोलीसहित संक्रमितको घरमा गएर स्वास्थ्य अवस्थाको बारे जानकारी लिने र उपचारमा सहयोग गर्ने योजना छ,’ उनले भने ।

उनले चिकित्सकको सिफारिसको आधारमा जटिल खालका विरामीको एक्स–रे र प्याथालोजी सेवा पनि निशुल्क प्रदान गरिने बताए । ‘संक्रमितको एक्स–रे र अन्य प्याथालोजी जाँचका लागि चिकित्सकले सिफारिस गरे त्यसमा लाग्ने खर्च पनि वडा कार्यालयले ब्यहार्ने छ,’ वडा अध्यक्ष रिजालले भने ।

उनले चिकित्सकसहितको टोलीले स्वास्थ्य तथा हाईजिन किट समेत उपलब्ध गराउने जानकारी दिए । गम्भिर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर तथा होम आइसोलेशनमा रहेका विरामीलाई अक्सिजनको आवश्यक भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गर्ने वडा अध्यक्ष रिजालको भनाई छ ।

होम आईसोलेसनमा बसेका विरामीहरुमा कुनै समस्या भएमा वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीलाई सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले वडा कार्यालयले होलेस्टिक होम केयर सेन्टरको सहकार्यमा कोभिड विरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको जानकारी दिए ।

उनले भने, ‘वडा कार्यालयले देशमै नमुना काम गर्दैछ । यसले विरामीको स्वास्थ्यमा टेवा पुग्ने नै छ । विरामीमा हौसला बढ्न गई कोरोना जित्न मद्दत गर्ने विश्वास छ ।’

प्रतिक्रिया