लसुन प्याज मिसन कार्यक्रममा अनुदान दिदा पनि प्रगति भएन

खगेन्द्र दाहाल, नेपालगन्ज : बाँकेमा संचालनमा रहेको लसुन प्याज मिसन कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका केहि स्थानमा मिसन कार्यक्रम संचालन गरेकोमा सोचे अनुरुप प्रभावकारी नदेखिएको हो ।

कृषि ज्ञान केन्द्रले बाँकेको बैजानाथ गाउँपालिका वडा नम्बर ३,४,५,६ र ८ मा लसुन प्याज मिसन कार्यक्रम संचालन गरेको थियो । भने, खजुरा गाउँपालिका वडा नम्बर ६, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ र नरैनापुर गाउँपालिका वडा नम्बर २ मा गरि कुल २५ हेक्टर क्षेत्रफलको लागी किसानसंग सम्झौता समेत गरेको कृषि ज्ञान केन्द्रले जनाउको छ ।

मिसन कार्यक्रमका लागी कृषि ज्ञान केन्द्रले प्रति हेक्टर १ लाख रुपैया अनुदान सहयोग पनि गरेको हो तर किसानले बेलैमा विउ र विरुवाको जोहो गर्न नसक्दा ८ हेक्टरमा प्याज लगाउन नसकिएको कृषि अधिकृत दिनेश भट्टराईले जानकारी दिनुभयो । सम्झौता अनुरुप किसानले काम गर्न नसक्दा उत्पादन पनि यो वर्ष अघिल्लो वर्षका तुलनामा केहि घटेको कृषि अधिकृत भट्टराईले उल्लेख गर्नुभयो । मिसन कार्यक्रममा किसानले प्याज लसुनको तुलनामा धेरै लगाएको पाइएको छ ।

लसुन खेती ३ हेक्टरमा गरिएको छ, भने प्याज खेती १४ हेक्टरमा व्यवसायिक रुपमा लगाईएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । बाँकेमा मिसन कार्यक्रम बाहेक अन्य किसानहरुले घरमा खानका लागी मात्र थोरै मात्रमा लगाएको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताउनुभयो । बाँके जिल्लामा व्यवसायिक लसुन प्याज कार्यक्रम प्रति किसानहरुको चासो बढ्न नसकेको ज्ञान केन्द्रले जनाएको छ ।

किसानहरुले सामान्य रुपमा लसुन, प्याज खेतीलाई लिने गरेका कारण पनि यसको विस्तार हुन नसकेको हो । बाँकेमा २०७० सालमा पनि लसुन, प्याज मिसन कार्यक्रम कृषि कार्यालयले संचालन गरेको थियो । विचमा किसानहरुले चासो नदेखाउदाँ उक्त मिसन कार्यक्रमलाई रोकिएको थियो । किसानहरुले लसुन, प्याज खेती गर्न भन्दा पनि मकै खेती तर्फ आकर्षित देखिएको कार्यालयले जनाएको छ ।

आगामि आर्थिक वर्षका लागी लसुन, प्याज मिसन कार्यक्रम संचालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल चलिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानले मकै र तरकारी खेती तर्फ रुचि राखेकाले नयाँ कार्यक्रम पनि यसै केन्द्रित रहने ज्ञान केन्द्रका प्रमुख ढकालले जनाउनुभयो । अहिले संचालन गरेको लसुन, प्याज किसान कार्यक्रम प्रचावकारी नभएपछि मुल्यमा पनि बृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया