बाँके बर्दिया मैत्री समाज र एनआरएनए जापानद्वारा भेरी अस्पताललाई आर्थिक सहयोग

नेपालगन्ज : बाँके–बर्दिया मैत्री समाज जापान र गैरआवासीय नेपाली संघ, जापान ( एनआरएनए) ले नेपालगन्जको भेरी अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण उपचार लगायतका कार्यमा समस्या परेको खबर पाएको बाँके बर्दिया मैत्री समाज जापान र एनआरएनए जापानले उक्त सहयोग रकम नेपाल पत्रकार महासंघ बाँके मार्फत प्रदान गरेको हो ।

सहयोग बापत एक लाख २८ हजार एक सय ४२ रुपैयाको स्वास्थ्य सामाग्री सहित ५ लाख ४६ हजार ८ सय ५८ नगद रकम हस्तान्तरण गरेको हो ।

समाज र एनआरएनएका तर्फबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र समाजका सल्लाहकार ओमप्रकाश देवकोटा मार्फत उक्त रकम भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई आईतवार हस्तान्तरण गरियो ।

यसअघि नै १ लाख २८ हजार बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई प्रदान गरिसकिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको रोहबरमा हस्तान्तरण गरिएको रकम बिभिन्न संकटबाट गुज्रिरहेको भेरी अस्पतालका लागि उपयोगी हुने डाक्टर थापाले बताए ।

कोरोना संक्रमणको दोस्रो लहरले बाँकेलाई परेको असर र त्यसबाट भेरी अस्पताललाई अक्सिजन लगायत अन्य सामाग्रीमा समेत परेको समस्यालाई मध्यनगर गर्दै जापानमा बाँके बर्दिया मैत्री समाज जापानका संरक्षक सुशील मल्लले एक अभियान संचालन गरि सहयोग रकम जुटाएका थिए ।

बाँके बर्दिया मैत्री समाज जापानको अध्यक्ष अर्जुन थापाले नेपाल संगै आफ्नो जिल्लाहरुमा कोरोना महामारीले धेरै नैअसर गरेको खबरले हामिलाई स्तब्ध बनायो , र त्यसपछी केही भए पनि कोरोना संक्रमितको उपचार भइ रहेको भेरी अस्पतालमा सहयोग गर्ने योजना अनुरुप सहयोग पठाएको टेलिफोनमा कुरा गर्दै बताएका छन् ।

बाँके बर्दिया मैत्री समाज जापान बाँके तथा बर्दियाबाट अध्ययन तथा रोजगारका लागि जापन पुगेकाहरुको संस्था हो । जसले बिपत्तिको समयमा आफ्नो जिल्लालाई सहयोग गर्दै आएको छ ।

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी र महासचिव जनकविक्रम शाहीले बाँके र बर्दिया जिल्लामा उत्पन्न कोभिड संकट समाधानका लागि अग्रसरता लिई आर्थिक सहयोग गरेको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया