नेपालगञ्ज १२ मा वडा कार्यालयलाई बनाइयो आइसोलेसन

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ ।

चारजना महिला र १० जना पुरुषलाई राख्न सकिने गरि १४ सइयाको अस्थाई आईसोलेसन तयार गरिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिनुभयो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बिहिवार वडा कार्यालयमा आईसोलेसनको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख राणाले कोभिड संक्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आईपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले वडा कार्यालयमा आईसोलेसन भएपछि वडाबासीलाई सहज हुने बताउनुभयो ।

वडाअध्यक्ष सुवेदीका अनुसार भाडामा बस्ने र घरमा आईसोलेसनको सहज व्यवस्था हुन नसक्नेहरुका लागि लक्षित गरि आईसोलेसन तयार गरिएको हो । केहीदिनमा चिकित्सक र औषधी सहितको घरदैलो अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

नेपालगञ्जमा यसअघि वडा नम्बर ४ ले दुईजना चिकित्सकसहित १० सइयाको आईसोलेसन सञ्चालन गरिरहेको छ । उप–महानगरपालिकाले ह्वाईटहाउस र रामलिला मैदानमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ ।

वडाहरुमा चिकित्सक सहितको घरदैलो र सेनिटाईजर गर्ने कार्य चलिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया