हेमन्त शाही,नेपालगन्ज :
कोरोना संक्रमणको दोस्रो लहरले बाँकेलाई तहसनहस पारेको छ । दैनिक संक्रमण र मृत्युदर उच्च रहदै आएको बाँकेको जानकी गाउँपालिकामा भने कोरोना संक्रमण र मृत्युदर नियन्त्रणमा रहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहरबाट जानकी गाउँपालिकामा आजको दिनसम्म १ सय ७६ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको जानकी गाउँपालिकाका कोरोना फोकल पर्सन टामलाल बेलबासेले जनाएका छन् ।
बेलबासेका अनुसार हाल जानकीमा ७४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३४ महिला र ४० पुरुष रहेका छन् ।
बाँकेको कोरोना संक्रमण र मृत्यु नियन्त्रण भन्दा बाहिर गएको छ । जिल्ला भर नै लकडाउनको अवस्था छ । कोरोना संक्रमण नियन्त्रण गर्न सबै स्थानिय तह तथा जिल्ला कोभिड १९ संक्रमण ब्यवस्थापन केन्द्र बाँकेले विभिन्न योजना अन्तरगत कार्य गर्दै आएको छ ।

उता जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव भने कोरोना संक्रमणलाई नियन्त्रण गर्न र त्यसको उचित ब्यवस्थापनको लागि प्रत्यक दिन पालिकाले संचालन गरेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुर स्थित खुल्ला कारागार आइसोलेसन सेन्टर पुगेर स्वास्थ्यकर्मी र बिरामिको हौसला बढाउदै आएका छन् ।
आइसोलेसन सेन्टरमा चाहिने स्वास्थ्य सुरक्षा सामाग्री देखि अक्सिजन सम्मको ब्यवस्थापनमा कुनै कमि हुन नदिने जिकिर गर्ने अध्यक्ष यादव स्थानीयलाई जनचेतना जगाउने कार्यमा समेत सकृय रहन्छन् ।
मधेसी समुदायको बाहुल्य रहेको जानकी गाउँपालिकाका सम्पुर्ण वडाका अध्यक्ष तथा जनप्रतिनिधिलाई जनचेतना जगाउन गाउँ गाउँ पुग्ने र जनप्रतिनिधिलाई खटाउने गर्छन् ।
“यो महामारीको समयमा लापरबाही गरेर कामै छैन, यतिबेला जतिसकिन्छ आफ्नो पालिकाबासीको सुरक्षा र उपचारमा ध्यान दिनुपर्छ त्यसैले म यो महामारी नियन्त्रण र रोकथामको लागी मैले कुनै कसर बाकी राख्ने छैन ।” अध्यक्ष यादवले बताए ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सबै संघ संस्था, ब्यक्ति तथा सम्पुर्ण पालिकाका कर्मचारी संग समन्वय गरेर कार्य गर्दै आएको र कोरोना महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नु पर्ने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना बताउछन् ।
जानकी गाउँपालिकाले कोरोना संक्रमणको दोस्रो लहर संगै खुल्ला कारगारमा अक्सिजन सिलिन्डर र स्वास्थ्यकर्मी सहितको आइसोलेसन स्थापना गरेको थियो । आइसोलेसन स्थापनामा सक्रिय बनेका जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश यादव कोरोना नियन्त्रणको काममा दैनिकी बिताउने गर्छन् ।
मेरो आफ्नै वडामा जानकी गाउँपालिकाको आइसोलेसन स्थापना गरिएको छ , त्यहा चाहिने हरेक ब्यवस्थापन र रेखदेखमा आफै जुट्ने गर्छु । कोरोनाले सानो ठूलो धनी गरिब र समुदाय केही भन्दै त्यसैले यो महामारी नियन्त्रण गर्न सके बाकी काम त पछि पनि गर्न सकिन्छ त्यसैले पनि बढी समय कोरोना संक्रमणको नियन्त्रणमा लागेको छु , वडाअध्यक्ष यादवले बताए ।










