वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्।

वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो। सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन्।

वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ। वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ। कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ।














