नेपालगन्ज : कानुनी रूपमा लागूऔषध प्रयोगकर्ता अपराधी नभई स्वास्थ्य समस्या भनी उल्लेख गरेपनि व्यवहारमा लागू नभएको सरोकारवालाको गुनासो छ ।

बुधबार नेपालगन्जमा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको नेपालमा लागूऔषध प्रयोगकर्ताहरूलाई फौजदारी मुद्दा/दण्डका विकल्पहरू विषयक अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश महासचिव यशोदा ज्ञवालीले यस्तो गुनासो गर्नुभएको हो ।
लागु औषध प्रयोगकर्ता अपराधी नभई रोगी भएको कुरा कानुनीरुपमा स्वीकार गरिए पनि त्यो अनुसार व्यवहार हुन नसकेको ज्ञवालीले गुनासो गर्नुभयो ।
ज्ञवालीका अनुसार लागु औषध प्रयोगकर्ताको उपचार गर्ने २ विधिहरु हुन्छन्।एउटा मौखिक प्रतिस्थापन उपचार पद्धति हो र अर्काे उपचार तथा पुनर्स्थापना केन्द्र हो।
मौखिक प्रतिस्थापन उपचार पद्धतिमा अस्पतालबाट औषधिहरु दिँदै बिस्तारै लागु औषधको लत छुटाइन्छ। अर्काे पद्धति भनेको पुनर्स्थापना केन्द्रमा निश्चित समय राखेर मनोवैज्ञानिक परामर्शका साथै अन्य उपचार सेवा समेत दिई लागु औषधको लतबाट बाहिर ल्याइन्छ।

उता अन्तरक्रिया कार्यक्रममा बोल्दै रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ ले नै लागुऔषधको लतलाई मानसिक रोगका रुपमा लिएको बताए। बिसीका अनुसार लागुऔषधको लतलाई मानसिक रोगका रुपमा लिइए पनि लागुऔषध प्रयोगकर्तालाई उपचारको कुरामा भने अनेक बाधा रहेको बताएका थिए । बिसिले लागूऔषध प्रयोगकर्ताहरूलाई फौजदारी मुद्दा/दण्डका विकल्पहरूमा उपचारलाई जोड दिनुपर्ने बताएका थिए ।


लागुऔषध बिरुद्धको क्षेत्रमा काम गर्ने सरोकारवालाको उक्त अन्तरक्रिया कार्यक्रममा अधिवक्ता पदम पाण्डेले लागुऔषध प्रयोगकर्तालाई उपचार र कारोबारीलाई कडा दण्डको ब्यवस्था गर्नु पर्ने जिकिर गर्नुभएको थियो ।
रिकभरिङ नेपाल पूर्व लागुऔषध प्रयोगकर्ताहरू र लागुपदार्थ सेवा प्रदान गर्ने सङ्घ, संस्थाहरूको राष्ट्रिय स्तरको महासंघ हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ज्ञानु माया थानेत, उच्च अदालत नेपालगन्जका सन्त कुमार पौडेल, जिल्ला अदालत बाँकेका गणेश कुमार मिश्रा, अधिवक्ता महेश कुमार चौधरी, पत्रकार कमल डाङ्गी लगायत सहभागीले छलफलमा आफ्नो धारणा राखेका थिए ।














