एमाले बैजनाथले ‘संकटमा साथी र पार्टी’ अभियान संचालन, संक्रमितको घरदैलोमा सहयोग र सद्भाव

नेपालगन्ज : कोरोना महामारीका बेला नागरिकको घरदैलो र संक्रमितहरुको सेवामा अभियान संचालन गर्दै आएको बाँके एमाले तथा एमालेका विभिन्न भातृ संगठन तथा कमिटिहरुले सोमबार देखि अर्को ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेको छ ।

नेकपा एमाले बैजनाथको आयोजनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसर पारेर ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेका हो ।

कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेको स्वास्थ्य अवस्था नाजुक हुँदा गएको बेला एमाले बाँकेले एकपछि अर्को अभियान चलाएर संक्रमितहरुको मनोवल बढाइरहेका छन् ।

लकडाउनका कारण बाँकेमा रगत अभाव हुन थालेपछि नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले ‘हामी दिन्छौं रगत’ अभियान सुरु गरेका थिए भने बैजनाथ गाउँकमिटी संगको सहकार्यमा फेरि अर्को अभियानको थालनी गरेका हुन।

संस्थागत रक्तदान नभएर बाँकेमा रगत अभाव हुन थालेपछि शनिबार मात्रै ‘हामी दिन्छौं रगत’ अभियान सुरु गरेका सचिव खत्रीले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसर पारेर ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जनताको बहुदलीय जनवादका प्रणेता जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जिवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा कोरोना संक्रमितलाई घरघरमा पुगेर मनोपरामर्श दिने, औषधि, फलफूलसहित आवश्यक जडिबुटी प्रदान गर्ने कार्यक्रमको सुरुवात गरियो ।’

सचिव खत्रीले ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेको जनाउ दिँदै यो अभियानमा सहभागी भएका एमाले बैजनाथ गाउँ कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरुलाई धन्यवादसमेत दिएका छन् ।

उनले कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त भइरहेका बेला संक्रमितहरुको मनोबल बढाउन अभियानको थालनी गरिएको जानकारी दिए ।

यसअघि सचिव खत्रीले आफैले रक्तदान गरेर ‘हामी दिन्छौं रगत’ अभियानको सुरुवात गर्दै यस अभियानमा जोडिन सबैलाई अपिलसमेत गरेका थिए । ‘अब होम आइसोलेसनमा रहेका संक्रमितहरुको मनोवल बढाउन ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेका छौं । यसमा सबैको साथ, सहयोग र सदभाव रहनेछ,’ सचिव खत्रीले भने ।

प्रतिक्रिया