मेरो प्रशासनले त मात्रै सुचना निकालेको छ र शव गनेको छ !

रामु ओली : “बाँकेमा जेष्ठ १७ सम्मलाई थपियो लकडाउन” भर्खरै मैले नै अपडेट गरेको समाचारको शिर्षक हो । प्रशासनले जारी गरेको सुचना अनुसार सानो सुचनालाई रिले गर्ने काम मैले गरे । तर त्यो सुचना गलत हो मलाई थाहा छ , के मानेमा गलत हो भने त्यो सुचना मात्र कागजमा रहने छ ।

नेपालगन्ज बजारभरिका पसल खुल्लै छन्, कसैका आधा त कसैका पुरै । बजारभरी मान्छेका भिड त्यस्तै छन् । रक्सी पसल , कफि सप, चिया पसल सबै खुल्लै छन् । खाद्यान्न, लत्ताकपडा, सुनचाँदी, भाडाकुडा, जम्मै पसल खुल्लै छन् । सडक भरी , चोकभरी सुरक्षाकर्मी पनि छन् । प्रशासन संग त्यो कागज पनि छ समाजिक संजाल भरी निषेधाज्ञा बढाइएको … र पनि बजारमा मान्छे पनि छन् ।

लकडाउन गर्नै पर्छ, त्यो लेखाजोखा गर्ने म विशेषज्ञ होईन, लकडाउन गर्नै हुँदैन त्यो भन्न सक्ने पनि ममा हैसियत छैन तर मैले के चाहिँ बुझ्न सक्छु भने प्रशासनले निकालेको लकडाउन बढाइएको वा निषेधाज्ञा लगाइएको सुचना सुचना नभएर एउटा चिर्कटो हो भन्ने ।

प्रशासनले साच्चिकै लकडाउन लगाउथ्यो भने सायद त्यसको पालना भएको वा नभएको हेर्थ्यो होला । देख्थ्यो होला । वा सुन्थ्यो होला । तर न प्रशासन त न देखेको छ , न सुनेको छ न त पलना नै गराएको छ । बस प्रशासनले मात्रै लास गनेको छ । शुकवार १७ मरे , शनिबार १५ ।

साच्चै कहिलेकाहीँ सोच्छु, बाँकेमा वा नेपालगन्जमा लकडाउनको आवश्यकता नै छैन त, यदि तपाइहरु छैन भन्नू हुन्छ भने धेरै राम्रो । मेरो जिल्लाले कोरोना नियन्त्रण गर्न सफल भएछ । र अब लकडाउन हटाउन भनौ ।
यदि लकडाउन आवश्यक छ भने त्यसको पालना गरौं , गर्न लगाउ र त्यसको लागि प्रशासनलाई झकझकाउ ।

नियम लगाएर त्यो नियम तोड्न लगाउनु भन्दा नियम नै नलगाएको उत्तम हुन्छ । ताकी लकडाउनको परिभाषा नै नबदलियोस । भोलि साच्चिकै लकडाउन लगाउनु पर्दा जनताले लकडाउन भनेको आधा सटर खुल्ने हो, पैदल हिड्ने हो , अफिस नगए पनि बजार र भट्टि जाने हो भनेर बुझ्ने बातावरण सृजना नहोस ।

जिल्लाको अहिलेको अवस्था हेर्ने हो भने पनि हामी अक्चाक्ली खुसी हुने र उफ्रीहाल्नु पर्ने अवस्था छैन । क्रमिक रुपमा कोरोना संक्रमण र मृत्यु घटेको पक्कै छ तर रोकिएको छैन । दैनिक १०० माथी बाँकेकै पोजेटिभ डाटा आउदै छ मृत्युको सिलसिला आज बाहेक रोकिएकै थिएन अनि हामी लकडाउन बढाउछौ तर वास्ता गर्दैनौं ।

प्रशासन सुचना निकाल्छ तर मौन छ । मात्रै सुचना निकाल्ने हो भने त्यो पनि नगरे हुन्छ मेरो प्रशासन । त्यो सुचना निकाल्न पनि कति दुख होला । मर्ने मरेकै छन् , रुने रोएकै छन् , कति त्रासमा छन् के फरक पर्छ र प्रशासनलाई । सबैलाई थाहा छ हामी संग भ्याक्सिन छैन, कोरोना नियन्त्रण गर्न लाई भ्याक्सिन र लकडाउन बाहेक अर्को बिकल्प छैन । फेरि लकडाउनमै हामी किन लापरबाही ?

प्रतिक्रिया