भारतमा कोरोनाको दोस्रो लहरको गती क्रमशः कम हुन थालेको छ । भारतमा आइतबार २ लाख २२ हजार ७०४ जना कोरोना संक्रमित भेटिए । यो आँकडा पछिल्लो ३८ दिनमा सबैभन्दा कम हो । यसअघि १५ अप्रिलमा २.१६ जनामा कोरोनाको पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४,४५२ संक्रमितको ज्यान गएको छ । साथै, ३ लाख २ हजार ८३ जनाले संक्रमणलाई जितेका छन् ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ३ लाख पार भएको छ । अघिल्लो वर्ष १३ मार्चमा संक्रमणका कारण पहिलो मृत्यु भएको थियो । यसको १४ महिना १० दिनपछि मृत्युको संख्या ३ लाख भएको छ । हालसम्म कूल ३ लाख ३ हजार ७५१ जनाको यो महामारीका कारण मृत्यु भइसकेको छ ।
मृत्युको आँकडा थामिएको छैनः भारतमा कोरोनाको दोस्रो लहर कमजोर भएता पनि मृतकको संख्या भने कम भइरहेको छैन । मे महिनामा हरेक दिन औसतमा ३,५०० मृत्यु भएको छ ।
एक लाख मृत्यु एक महिनाभन्दा कम समयमाः भारतमा कोरोनाका कारण मृत्युको संख्या एक लाखसम्म पुग्नमा करिब साढे ६ महिना लागेको थियो । एकबाट दुई लाख हुनमा ७ महिनाभन्दा पनि कम समय लाग्यो । यस्तै, २ देखि ३ लाख मृत्यु एक महिनाभन्दा पनि कम समयमा भयो ।











