बाँकेमा फेरि थपियो नाम मात्रको निषेधाज्ञा, बजारको अवस्था सामान्य जस्तै

नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ । स्थानीय प्रशासनले एक हप्ता निषेधाज्ञा थप गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । सक्रिय संक्रमितको संख्याले जोखिम कायमै रहेको भन्दै प्रजिअ गेलालले निषेधाज्ञा लम्ब्याउनु परेको बताए ।

यता प्रशासनले निषेधाज्ञा थप गर्दै गए पनि बाँकेका बजारहरु भने सामान्य अवस्थामा जस्तै चलेका छन् । अपबाद जस्तो नेपालगन्जका चोकहरुमा चेकजाँच र प्रहरीले चेतावनी दिए पनि समग्र बजारको अवस्था सामान्य अवस्थामा जस्तै निर्वाध रुपमा बाजार संचालनमा रहेका छन् ।

कोरोना संक्रमण र मृत्युुको ग्राफ केही कम भएको बाकेमा केहिले लकडाउन गर्न नहुने माग गर्दै आएका छन् भने केहिले भने लकडाउन लगाइसके पछि त्यसको पालना गर्न र गराउनु पर्ने भन्दै प्रशासनको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया