हरेक महिना बरामद गरिएको लागुपदार्थ पत्रकारको रोहबरमा नष्ट गर्ने बाँकेका एसपी अधिकारीको प्रतिबद्धता

नेपालगन्ज : बाँकेका एसपी श्यामकृष्ण अधिकारीले सीमाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै आज पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उहाँले खुला सीमानाकाबाट हुने चोरी तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले अपराधको वर्गिकरण गरेर त्यसैअनुसार योजना बनाउने र त्यसलाई निरुत्साहित पारिने पनि प्रतिबद्धता जनाउनुभयो । बाँके लागु औषध कारोवार र प्रयोग दुवैको ट्रान्जिट प्वाइन्ट भएको भन्दै उहाँले त्यसको नियन्त्रणमा कुनै कसुर बाँकी नराखिने विश्वास दिलाउनुभयो ।

बरामद गरिएको लागु औषध महिना महिनामा सार्वजनिक गरिने र पत्रकारकै रोहवरमा नष्ट गरिने उहाँको भनाइ थियो । यसअघि प्रहरीले बरामद गर्ने लागु औषध कहाँ र कसरी नष्ट गरिन्छ भन्दै प्रहरीमाथि प्रश्न उठ्ने गरेको थियो । उहाँले विपद्बाट हुने जोखिम र क्षती कम गर्ने उपायबारे प्रहरी तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।

यस्तै डिएसपीको कार्यभार सम्हाल्नुभएका मधुसुदन न्यौपानेले प्रहरी र पत्रकारबीचको समन्वय र सहकार्यमा जोड दिनुभयो ।

प्रतिक्रिया