रामु ओली : कोरोना संक्रमणको दोस्रो लहरले बाँके जिल्ला अझ त्यसमा नेपालगन्ज उपमहानगरपालिकालाई नराम्रो संग थलायो । बाँकेका अस्पतालमा मृतकका संख्या २० सम्म पुगे , दैनिक पोजेटिभ चेकजाँचको ९० देखि ९५ प्रतिशत सम्ममा देखियो ।
अस्पतालमा सहज उपचार त आम मानिसको लागि कल्पना भन्दा बाहिरको कुरा थियो । अस्पताल देख्न मात्रै पाए पनि, अस्पतालको कुनै बरण्डा वा चौरमा मात्रै स्थान पाए पनि भाग्यमानी ठान्ने बिरामिका आफन्ती । ठुला नेता वा पहुँचवाको सबै भन्दा धेरै फोनको घण्टी बेडकै सिफारिसका लागि आएको कुरा सायद हामी सबैले भुली सकेका छौँ ।
अक्सिजनको अभाव, एम्बुलेन्सको अभाव, उपचारका लागि आवश्यक औषधिको अभाव त भोग्नेलाई थाहा छ । घन्टा भरमै आफ्नै परिवारको सदस्यलाई गुमाउँदाको पीडा तिनैले भोगे । तर ती सबै कुरा अहिले राज्यले भुली सक्यो । प्रहरी र प्रशासनले भुली सक्यो । अनि तपाईं हामिले जनताले पनि भुली सक्यौं ।
उ बेला लकडाउन कडा पार्न मुकदर्शक जस्तै बनेको प्रहरी प्रशासन अहिले भने सवारीसाधनको कागजपत्र चेकजाँचको लागि भने सक्रिय बनेको छ । सवारी साधनको कागजपत्र चेकजाँच गर्नु गलत हुँदै होईन तर प्राथमिकता के हो भन्ने मुल सवाल हो ।
कोरोना संक्रमणको तेस्रो लहरको आकलन गरिरहेको बेला , भारत लगायत युरोपमा कोरोना संक्रमणको ग्राफ पुनः उकालो लग्दै गएको छ । नेपालमा समेत फेरि बिस्तारै कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै छ । त्यसको कारण भनेको खुल्ला गरिएको लकडाउन र लापरबाही हो ।
त्यही लापरबाहीलाई नियन्त्रण गर्न, सजग गराउन यतिबेला प्रहरी प्रशासन सडकमा हुनु पर्थ्यो । बजारमा गल्लिहरुमा हुनु पर्थ्यो । स्वास्थ्य मापदण्डको पलना गराउन सुरक्षाकर्मीको भुमिका अहम् रहन्छ । सुरक्षाकर्मीको कारबाहीले धेरै हदसम्म भए पनि स्वास्थ्य मापदण्ड पालना गराउन सकिन्थ्यो । तर प्रहरी अहिले चोकचोकमा कागजपत्र हेर्दै छ । कागजपत्र पछि हेरे हुन्छ । अहिले नहेरे पनि हुन्छ । तर मास्क र स्वास्थ्य मापदण्ड अहिले नहेरे पछि हेर्नलाई तपाईं र हामी नहुन पनि सक्छौ ।
फेरि यसो भनिरह्दा प्रहरी ,प्रशासनले गरेका सबै काम प्राथमिकतामा नपरेका मात्रै गरेका छन् भन्ने होइनन् । ट्राफिक प्रहरीले केही राम्रा काम गरेको छ । जोरबिजोर प्रणाली कायम राख्न चेकजाँच तिब्र पारेको जसले बजारमा भिड कम गर्न पक्कै सकारात्मक काम गर्ने छ ।











