नेपालगन्ज । पछिल्लो केही दिनयता बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलनमा उत्रिदै आएका छन् । आफ्ना मागहरू पूरा नगरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बैंकिङ कर्मचारीहरु बताउँछन् ।
यसैबीच, यो आन्दोलनलाई नेपालगन्जका बैंकिङ कर्मचारीहरुहरुले पनि निरन्तरता दिएका छन् । शुक्रबार नेपालगन्जको सिद्धार्थ बैंक अगाडि कर्मचारीहरुले कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका हुन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट भएको सिद्धार्थ बैंक नेपालगन्जमा कार्यरत रोशन विष्टले बताए ।
कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै बिहीबार कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेका प्रदर्शन गरेका छन्।
आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको बैंकिङ कर्मचारीको गुनासो रहेको छ।









