भोको पेट भर्न मातृभूमी छोड्दै नेपाली, नेपालगन्ज नाका भएर जाने बढे

नेपालगन्ज नाका भएर भारत जानेको संख्या फेरि बढेको छ । नेपालगन्ज नाका भएर दैनिक ९ सय देखि एक हजार नेपाली भारत छिर्ने गरेको इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

भारतमा कोरोनाको संक्रमण दर घटेसँगै लकडाउन खुकुलो भएपछि कामका लागि भारत जाने नेपालीको संख्या बढेको उनले बताए । लकडाउनका बेला पनि नेपालीहरु कामका लागि भारत जान्थे, तर जेठ अन्तिम सातादेखि ठूलो हुल बाँधेर गएको देखिन्छ,’ उनले भने ।

उनले जेठ अन्तिम सातादेखि २२ असारसम्म झण्डै १२ हजार नेपाली कामका लागि भारत पसेको बताए । ‘कतिपय त बालबालिकासमेत लिएर भारत पसेको पाइन्छ,’ खनालले भने ।

दार्मा गाउँपालिका–५, नागार्जुन सल्यानका ५५ बर्षिय खलोवीर खड्का २२ असारमा नेपालगन्ज नाका हुँदै भारतको पौडी गढवाल गए ।

कोरोनाको उच्च जोखिम बढेपछि उनी ज्यान जोगाउन ३० बैशाखमा भारतबाट स्वदेश फर्किएका थिए । नेपालमा आएपछि कोरोनाबाट उनको ज्यान जोगिए पनि खान नपाएर ज्यान जाने खतरा बढ्यो । ‘कोरोनाले भन्दा खान नपाएर ज्यान जाने खतरा बढेपछि ज्यान हत्केलामा राखेर भारतको यात्रा तय गरेँ,’ उनले भने ।

२२ असार दिउँसो नलगाड नगरपालिका–१, कलबटका ६० बर्षिय रञ्जित नेपाली पनि कामका लागि भारत जाने नेपालीको लाइनमा थिए । उनी पनि लकडाउनकै बेला भारतबाट स्वदेश फर्र्किएका थिए । नेपालमा बसेर दैनिक गुजारा गर्न समस्या भएपछि कामका लागि भारतीय भूमी रोजेको उनले बताए । उनी भन्छन्, ‘कोरोना भन्दा एक छाक खानाको चिन्ता छ । बरु भोकले भन्दा रोगले मर्न उचित सम्झेर भारतीय भूमी रोजेँ ।’

उनीहरु जस्तै दैनिक गुजारा चलाउन धौ–धौ भएपछि नेपालगन्ज नाका भएर दैनिक एक हजार नेपाली भारत पलायन हुने गरेका छन् । पेटका लागि भारतको हिमाञ्चल प्रदेशको सिम्ला जान लागेका जाजरकोट नलगाड नगरपालिका–५, कल्बटका ४० बर्षिय दयाराम विकले बताए । उनले भोको भेटलाई कोरोनाले छेक्न नसकेको बताए । ‘कोरोनाको डर मानेर के गर्नु भेटले मान्दैन । छोराछोरीलाई भोकै मार्नुभन्दा कामका लागि भारत जान उचित लाग्यो,’ उनले भने ।

कामका लागि भारत जाने नेपालीलाई कोरोनाको जोखिम नेपालभन्दा भारतमा छ भन्ने राम्रोसँग थाहा छ । तै पनि उनीहरु नेपालमा बस्नुभन्दा भारत जान उचित सम्झिन्छन् । बबई गाउँपालिका–२, दाङका कर्मबहादुर डाँगी पनि भोको पेट भर्नकै लागि भारत गएका छन् ।

नेपालगन्ज नाकामा भेटिएका उनले आफूलाई कोरोना भन्दा भोको पेटको डर भएको बताए । ‘अर्काको देशमा उपचार र स्याहार सुसार पाइन्न भन्ने राम्रोसँग जानकारी छ । नेपालमा बसेर भोको पेट भरिदैन । भोको पेट भर्न भारत जानुको विकल्प छैन,’ उनले भने ।

साना–साना नानी बोकेका महिला पनि कामका लागि भारत पलायन भइरहेका छन् । नेपालमा रोजगारी नपाएपछि पतिसँगै कामको खोजीमा भारतको सिम्ला जान लागेको जाजरकोट बारेकोटकी २३ बर्षिया यमुना थापाले बताइन् । उनी झण्डै एक बर्षको काखे छोरा बोकेर यूवासँगै भारतको सिम्ला गइन् ।

भारतमा लकडाउन लागेपछि नेपाल फर्किएका पतिसँगै आफू पनि कामका लागि भारत जान लागेको उनले सुनाइन् । ‘नेपालमा खान, लाउन समस्या भयो । दुवै जनाको सल्लाह बमोजिम नाबालक छोरा लिएर भारत हिड्यौँ,’ उनले आफ्नो देखेसो पोखिन् ।

प्रतिक्रिया