नेपालगन्ज : बाँके प्रहरीले बुधबार बेलुका भन्सार छली नेपालगन्ज ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरका समिर अनसारीलाई १७८ पीस कुर्तिसहित धम्वोझिबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
भारतीय नम्वर प्लेट युपी ४० एस ३७४७ नम्वरको मोटरसाइकलमा कुर्ति ल्याउँदै गरेका अनसारीलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।
उक्त कुर्तिको मूल्य करिव ४४ हजार बराबर रहेको प्रहरीको अनुमान छ । अनसारीले भन्सार छलेर ती कुर्ति भित्र्याएको खुलेको छ । प्रहरी यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यो भन्दा अगाडी बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्राएको पंखा बरामद गरेको थियो । करिब ८० हजार बराबरको ३० थान पंखा प्रहरीले बराबद गरेको थियो त्यस्तै नेपालगन्ज एमपी स्कुल नजिकबाट बाँके प्रहरीले भन्सार छलेर ल्याएको बाइक तथा गाडिका पाटपुर्जा, कपडा , छाता लगायतको ८ लाख रुपैयाँ बराबरको सामाग्री बरामद गरेको थियो । यी र यस्ता घटना प्रतिनिधि मात्रै हुन् ।
केही दिन देखि बाँके प्रहरीले दैनिक जसो नै नेपालगन्जको विभिन्न स्थान देखि भन्सार छली गरि ल्याइएको सामान बरामद गर्दै सार्वजनिक गरिरहेको छ । यस्तोमा सिमानाकामा रहेका सशस्त्र प्रहरी र जनपद प्रहरीको काम क्रियाकलापमा सर्वसाधारणले प्रश्न गर्दै आएका छन् ।
बिना प्रहरीको सहयोग त्यति ठूलो मात्रामा उक्त सामानहरु नेपालगन्ज सम्म कसरी आइपुग्यो यो प्रश्न संगै सिमानाकामा खाटिने प्रहरीको नियत र सेटिङमा प्रश्न गरिदै आएको छ ।











