बाँकेका विद्यार्थी संगठनहरुको आन्दोलनले एक महिनाको शुल्क मिनाहको निर्णय

नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिका अन्तरगतका संस्थागत विद्यालयले यो आवको एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।

संस्थागत विद्यालयको शुल्कको सम्बन्धमा बनेको कार्यदलको बिहिवार बसेको बैठकले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको हो ।

कार्यदलको संयोजक समेत रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा विद्यार्थी संगठनका प्रतिनिधि सम्मेलित बैठकले बैशाख महिनाको शुल्कमा १५ दिनको छुट गर्ने र असार महिनाको शुल्कमा १५ दिनको शुल्क छुट गर्ने निर्णय गरेको छ ।

बाँकेका संयुक्त विद्यार्थी संगठनहरुले लामो समयदेखी लकडाउन अवधीको मासिक शैक्षिक शुल्क नलिन चेतावनी दिदै संबद्ध निकाय समक्ष ध्यानाकर्षण गराउदै आएको थियो ।

यस अघि संयुक्त विद्यार्थी संगठन बाँकेले बैशाख र जेष्ठ महिनाको मासिक शिक्षण शुल्क नलिन चेतावनी सहित नगर शिक्षा अधिकारी गोरख थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

संयुक्त विद्यार्थी संगठनहरुको आन्दोलन र सम्बद्ध निकाय संगको छलफल र चेतावनी पछि विद्यार्थी बर्गको माग थोरै भएपनी सम्बोधन भएको बताउदै अन्य पालिकामा समेत शुल्क छुटको लागि संयुक्त विद्यार्थी संगठन लागिपरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष टेकेन्द्र मल्लले बताए ।

आज बसेको बैठकमा विद्यार्थी संगठनको तर्फबाट नेबि संघका चक्र रावत, अखिल क्रान्तिकारीका सुरेन्द्र शाह जम्बो, अनेरास्ववियुका टेकेन्द्र मल्ल, प्रकाश बोहोरा, प्रकाश मान भण्डारी, निष्पक्ष जंग शाह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया