नेपालगन्ज : नेपालगन्ज वडा नम्बर १२ बिटिएस रोडको फुटपाथमा मिनि मार्केट बनाउने भन्दै सडक किनारामा रहेको रुख काटिएको/ छाटिएको बिषयलाई लिएर चर्को बिरोध सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले बिटिएस रोडमा औद्योगिक क्षेत्र तर्फको फुटपाथमा मिनि मार्केट बनाउने स्थलमा त्यहाँ रहेका रुखा काटछाट पारेको दृश्य (फोटो र भिडियो) सामाजिक संजालमा पोस्ट गर्दै त्यस कार्यको व्यापक बिरोध सुरु भएको हो ।
सामाजिक संजाल प्रयोगकर्ता म श्रेष्ठले सायद हामीले धेरै नै पढे लेखेकाे मेयर पाएर नै हाे कि नेपालगञ्जमा यस्ताे खाले विकासे याेजना देख्न पाइ रहेका छाै । सोही बिषयलाई ब्याङ्गे गर्दै फोटो सहित श्रेष्ठले सामाजिक संजालमा त्यस कार्यको बिरोध जनाएका छन् ।
श्रेष्ठले अगाडी लेखेका छन् ,- ‘अहिले विरूवा छाटेर मार्केट बन्दै छ भाेली त्यही पसल खाेल्नेहरूले किल्ला ठाेकेरे विरूवा सुकाउने काम हुन्छ । अहिले जुन सुन्दरता देखिन्छ त्याे बाटाेकाे भाेली याे मिनी मार्केटले गर्दा कुरूप नै देखिने हाे ।’
त्यस्तै सोही बिषयलाई लिएर अर्का सामाजिक संजाल प्रयोगकर्ता किरण श्रेष्ठले छाटिएको रुखको फोटो शेयर गर्दै लेखेका छन्, -” बिटिएस रोडमा मेयर साहेबलाइ हरियाली देख्नै नहुने भो । आफै झाक्री आफै बोक्सी । के गर्न खोजेको हजुर । हजुरलाइ पर्यावरण नचाहिए पनि हामिलाइ त चाहिएको छ ।”
उता मेयर धवल समशेर राणाले एक पोष्टमा कमेन्ट गर्दै उक्त स्थानको रुखहरु काट्ने हैन भन्ने प्रतिक्रिया दिएको स्किन सट समेत अहिले सामाजिक संजालमा देखा परिरहेको छ । मेयरले रुख काट्ने हैन भनेर प्रतिक्रिया दिने तर रुख काटिएको भन्दै चर्को आलोचना भैरहेको छ ।
उता नगरपालिकाले भने मेडिकल कलेज अगाडि ठेला, पेटीमा फुटकर व्यापार गर्नेहरुलाई व्यस्थितरुपमा राख्न मिनी मार्केट निमार्ण गरिरहेको दाबी गरेको छ । उक्त मिनी मार्केटका लागि उपमहानगरपालिकाले ४० लाख बजेट खर्च गर्दै छ ।












