नेपालगन्ज : नेपालगन्जको जमुना नाका भएर भारत जानेको संख्या फेरि बढेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर केही कम भए संगै नेपालगन्ज नाका भएर भारतका विभिन्न शहर जानेको संख्यामा वृद्धि भएको हो ।
बालबालिका र परिवार सहित लुम्बिनी प्रदेशका बाँके बर्दिया, दाङ, रुकुम, तथा कर्णाली प्रदेशका जिल्लाहरुबाट भारत जानेको संख्या अधिक रहेका छन् ।
देशमा रोजगारी नपाएकै कारण घरपरिवार पाल्नको लागि भए पनि रोजगारीको खोजिमा भारततर्फ जानू परेको बाध्याता रहेको भारत जाने नेपाली युवाहरु बताउछन् ।
उनिहरु कतिपय त बालबालिकासमेत लिएर भारत पसेको पाइन्छ । कोरोनाको उच्च जोखिम बढेपछि उनी ज्यान जोगाउन ३० बैशाखमा भारतबाट स्वदेश फर्किएका दाङका बिम बहादुर रोकाय नेपालमा आएपछि कोरोनाबाट उनको ज्यान जोगिए पनि खान नपाएर ज्यान जाने खतरा बढ्यो । र उनी पुन भारत नै जान तम्सिएर नेपालगन्ज नाकामा भेटिए ।
‘कोरोनाले भन्दा खान नपाएर ज्यान जाने खतरा बढेपछि ज्यान हत्केलामा राखेर भारतको यात्रा तय गरेँ,’ उनले भने ।















