नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता नखुवाएको भन्दै आन्दोलित भएको आज सातौं दिनका दिन व्यवस्थापन पक्षबाट लिखित सहमति जनाएर सम्बोधन भएपछि ताला खुलेको छ।
आज व्यवस्थापन पक्षको तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का उप निर्देशक श्याम कुमार शर्मा र आन्दोलित कर्मचारीहरुका तर्फबाट मुनिर खान, अशोक कुमार दिक्षीत र विजय कुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।
बैशाख महिनाको तलव साउन १० गते भित्र, जेष्ठ महिनाको तलव साउन २० गते भित्र र असार महिनाको तलव भदौ ७ गते भित्रमा खुवाउने, फरक तलव , बीमा, सामाजिक सुरक्षा कोष बापतको रकम साउन मसान्तसम्म दिने, उपदान वापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको छ ।
त्यसैगरी तेस्रो पक्षका हटाइएका कर्मचारीहरुका बारेमा भोलि बसेर छलफलका माध्यमबाट टुंगोमा पुग्ने भएको मुनिर खानले बताए ।
स्मरण रहोस् उक्त संस्थामा रहेका तिनवटा युनियनहरुले असार ९ गते व्यवस्थापन पक्षसँग मुख्य ७ बुदे मागपत्रका ५१ बुदे सहायक मागहरु राखेर आज दोस्रोपटक वार्ता भएको छ । उक्त वार्ता सकारात्मक रुपमा अगाडि बढेको वार्तामा सहभागी युनियनका नेताहरूको भनाइ रहेको छ ।











