नेपालबाट १ हजार श्रमिक लैजाँदै इजरायल

काठमाडौं :नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो ।

कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक/डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ ।

सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । १ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार हजार जनाका लागि विज्ञापन खुलाउँदा व्यवस्थापनमा समस्या हुने कि भनेर चरणबद्ध रूपमा गर्नेबारे गृहकार्य भइरहेको छ । ‘एकैचोटि खुलाउने कि दुईपटक गर्ने भन्ने विषयमा भने इजरायलसँग अनुमति मागिँदै छ, चरणबद्ध रूपमा पठाइयो भने व्यवस्थापन गर्न समेत सहज हुने थियो,’ उनले भने । विभागका अनुसार इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ ।

नेपाली युवाहरूको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा रोजगारीमा पठाउन सरकारले पछिल्लोपटक गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको छ जसअनुसार अब सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल पठाउनेछ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया