कोरोना संक्रमण बढ्दै गर्दा बाँकेमा लापरबाही बढ्यो

नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउदै तेस्रो लहरको जोखीम रहेको भन्दै गर्दा बाँकेमा भने स्वास्थ्य मापदण्डको बिषयमा चरम लापरबाही देखिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाएको थियो । दैनिक रुपमा कोरोना संक्रमण र मृत्युको सिलसिला नरोकिएको बाँके जिल्लामा स्वास्थ्य मापदण्डको बिषयमा चरम लापरबाही हुँदै आएको हो ।

बाँकेका ठुला बजारहरु नेपालगन्ज, कोहलपुर र खजुरामा स्वास्थ्य मापदण्डको धज्जी उडाउदै भिडभाड, सभा सम्मेलन, राजनैतिक कार्यक्रम तथा धार्मिक तथा संस्कृतक कार्यक्रमहरु गरिदै आएका छन् भने बजारहरुमा समेत अनावश्यक भिडभाड हुने गरेको छ ।

कोरोना संक्रमणको सुरुवाती दिनदेखी नै उच्च जोखिममा रहेको बाँके जिल्ला र बाँकेका स्थानिय तहहरुले कोरोनाको तेस्रो लहरको लागि तयारी गरेको भन्दै गरे पनि बाँकेमा स्वास्थ्य मापदण्डको धज्जी उडाएको दृश्यले भने तयारी भन्दा पनि चरम लापरबाही रहेको देख्न सकिन्छ ।

त्यस्तै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अधिकाशं जिल्लाहरूबाट नेपालगन्ज हुँदै हालका दिनमा रोजगारिका लागि भारत जाने र भारतबाट नेपालगन्ज हुँदै आउनेको संख्या समेत उल्लेख्य रहेकाले बाँके कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

यता नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेन्ट (डेल्टा) प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको अवस्थामा समेत बाँकेमा देखिएको चरम लापरबाहीले आउने दिनमा बाँके जिल्लाको स्वास्थ्य अवस्था खराब रहने अनुमान गर्न सकिन्छ ।

त्यस्तै सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् भने बाके सहित २२ जिल्ला कोरोना संक्रमणको जोखिम जिल्लामा रहेका छन् ।

जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।  

प्रतिक्रिया