नेपालगन्जको जमुनाह नाकामा स्वास्थ्य सुरक्षामा सावधानी अपनाइदै

नेपालगन्ज :भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् ।

नेपालगन्जको जमुनाह नाकाबाट दैनिक ५०० देखि ६०० को हाराहारीमा मानिसहरु फर्किरहेका छन् ।

भारतबाट फर्किनेक्रम बढेसँगै नाकामा स्वास्थ्य सुरक्षा अपनाइएको छ । स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिए ।

उनले भारतमा फैलिएको महामारी नेपालगन्जमा भित्रिन सक्ने अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको बताए । नाकामा अहिले सीमावर्ती सहर रुपैडिहामा किनमेलका लागि जाने र स्वदेश फर्किनेको भीड लाग्ने गरेको छ । दैनिक रूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको उच्च जोखिम फेरि बढ्न सक्ने उनले बताए ।

भारतबाट आउने व्यक्ति अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक हुन् । जमुनाहनाका हुँदै भारतबाट अहिले दैनिक रूपमा ५०० देखि ६०० को हाराहारीमा मजदुर नेपालगन्ज भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए ।

उनका अनुसार दिल्ली, चण्डिगढ, गुजरात, मुम्बईजस्ता ठाउँमा काम गर्न पुगेका मजदुर अहिले फर्किरहेका छन् भने नेपालतर्फबाट पनि मजदुर भारततर्फ फर्किएका छन् ।

प्रतिक्रिया