बाँकेमा पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको आरोपमा दुई ब्यक्ती पक्राउ

पत्रकारको आवरणमा अपराधीक गतिविधि नगर्न महासंघको चेतावनी


नेपालगञ्ज  :  बाँकेमा क्रियाशिल पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँकेले पत्रकार आचारसंहिता भित्र रहेर आफ्नो सञ्चार कर्म गर्न विज्ञप्ती मार्फत अपील गरेको छ ।

शुक्रबार महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा सो अपिल गरेको हो ।

आफुलाई पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा २ जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि महासंघ बाँकेले यस्तो अपील गरेको हो ।

पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाद्दाता राजन बैश्यलाई बाँके प्रहरीले रकम बार्गेनिङ्गमा संलग्न पाएपछि पक्राउ गरेको हो ।

नेपाल पत्रकार महासंघ बाँकेले जारी गरेको विज्ञप्तीमा पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले सञ्चारकर्म गर्ने जो कोहीले पनि त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ ।

नेपालगञ्जमा कार्यालय रहेको एबिपी क्राईम न्यूज नामक अनलाईन मिडियामा कार्यरत पत्रकार हौं भन्दै सीमा क्षेत्रमा खटेका प्रहरीसंग पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरि एबिपी क्राईम न्यूजको सम्बाद्दाताको परिचयपत्र राखेका राजन बैश्यले प्रहरीसंग ‘तपाईले पैसा लिइरहेको भिडियो मसंग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि प्रहरीले बैश्य र मल्ललाई पक्राउ गरेको जनाएकोछ ।

प्रतिक्रिया