यो पनि खाजुरामै छ : चार दशकमा पनि बनेन बाटो र पुल (भिडियो सहित)

रामु ओली : पुल भत्किएको चार दशक बितिसक्दा पनि पुल बनेन भनेको सुन्दा अपत्यारिलो भएपनि खजुरा गाउँपालिका वडा नम्बर ३ को धौलागिरी र बि गाउँका बासिन्दाको लागि यो यथार्थले सधै पोल्ने गर्छ ।

२०२६-२७ साल तिर बाँकेको खजुरा क्षेत्रमा पुनर्वास कम्पनीले निर्माण गरेको खजुरा गाउँपालिका वडा नम्बर ३ को बि गाउँ र धौलागिरी जोड्ने इतिहास बोकेको पुल चार दशक देखि जिर्ण छ ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर तीनमा पर्ने उक्त पुल २०२७ साल तिर निर्माण गरिएको थियो । पुल निर्माणको करिब दश बर्ष पछि उक्त पुल बाढि कारण भत्किएको थियो । ६२-६३ साल सम्म पैदल यात्री तथा साइकल यात्री हिड्ने बाटो तथा पुल अहिले भने खण्डहर बनेको छ ।

देश पन्चायती ब्यवस्था , प्रजातान्त्रिक ब्यवस्था हुँदै गणतान्त्रिक राज्यब्यवस्था सम्म आइपुग्दा पुल भत्किएको चार दशक बित्यो, त्यो चार दशकमा कयौं सरकार परिवर्तन भए तर बि गाउँ धौलागिरी जोड्ने उक्त पुल भने कुनैपनि सरकारको योजनामा परेन ।

तत्कालीन पुनर्वास कम्पनीले निर्माण गरेको उक्त पुल तत्कालीन समयमा बि गाउँ ,ए गाउँ , एल गाउँ, गौघाट हुँदै बर्दियालाई खजुरा र नेपालगन्जसम्म जोड्ने एकमात्र पुलको रुपमा रहेको स्थानिय लक्ष्मण बुढामगर बताउछन् ।

उनी अहिले पनि सम्झन्छन् , – यो बाटो सिंह म्यानेजर बनाएको हो, ५० बर्ष जति भयो क्या बाटो बनेको , पछि बाढी आएर भत्कियो त्यसपछि कसैले बनाएनन’

चार दशक अगाडी नै इट्टाले बनाएको सडकको पिचको अशं

उनले बाटो र पुल फेरि नबन्नुमा गाउँमा गतिलो नेता नभएको बताउछन् । मगरलाई अहिले भने बाटो र पुल भन्दा पनि गाउँका युवाहरुले त्यही खंडहर र जंगल जस्तै बनेको पुल छेउछाउमा आफ्नो ड्रग खाने अड्डा बनाएकोमा चिन्ता छ ।

बुढामगर जस्तै आदर्श धौलागिरीका नर बहादुर खड्कालाई पनि बिद्यार्थी तथा गाउँका युवाहरू खंडहर र घना जंगल जस्तै बनेको पुल कुलतको अड्डा बनेकोमा चिन्ता छ । नजिकै स्कुल छ । स्कुलका विद्यार्थीहरु लुक्ने र खराब कार्यमा सहभागी हुने सम्भावना धेरै रहेको बताउने खड्काले पुल निर्माणको लागी जनप्रतिनिधिलाई बारम्बार घचघचाएको बताउछन् ।

‘नजिकै विद्यालय छ ,पुल नबन्दा विद्यार्थीलाई आवतजावतमा समस्या त छदैछ तर कुलतमा फस्ने डर पनि छ किनकी यो घना जंगल जस्तै बनेको छ र यहाँ ड्रग खानेहरुको अखडाको रुपमा बिकसित बनेको हामिले सुनेका पनि छौँ , त्यसैले मैले हाम्रा जनप्रतिनिधिलाई बारम्बार झकझकाएको छु । उहाँहरुले योजनामा पार्छु भनेर आश्वासन मात्र दिएका छन् , – स्थानिय खड्काले बताए ।

खंडहर बनेको पुल र पुलको दुबै तर्फ लगभग एक किलोमिटर बाटोको क्षेत्रफल हाल घना जङ्गलको रुपमा परिणत बनेको छ । पैदलयात्री समेत हिड्न नमिल्ने गरि खर , बयर जस्ता झाडि विकसित भएकोले सजिलै त्यस क्षेत्र कुलतमा लागेका युवाहरू छिप्ने अखडाको लागी उपयुक्त स्थान बनेको स्थानियको धारणा छ ।

नेताहरू भोट माग्दा पुल बनाउने भनेर बाचा गरेपनि पुल बनाउन कसैले चासो नदेखाएको बताउछन् बुढामगर ,- ‘नेताहरूलाई जताजता पाएक पर्यो उतै उतै बाटो बनाए तर यो पुरानो इतिहास बोकेको बाटो र पुलमा कसैको ध्यान गएन’

प्रतिक्रिया