कसरी टाट पल्टियो नेपाल एयरलाइन्स ?

कसरी टाट पल्टियो नेपाल एयरलाइन्स 

काठमाडौं : नेपाल वायुसेवा निगमसँग करिब ५४ अर्ब रुपैयाँको सम्पत्ति छ। ठान्नुहोला, आहा ! कति धनी रहेछ। तर, यसलाई बेच्नु हो भने गोजीमा कति बच्ला ? जम्मा ७ अर्ब।

किनभने, यसको दायित्व भार (तिर्नुपर्ने) नै ४७ अर्ब रुपैयाँभन्दा बढी छ। २०७५/०७६ मा गरिएको निगमको विस्तृत मूल्यांकन लेखापरीक्षणको तथ्यांकले गरिमामय राष्ट्रिय ध्वजावाहकको कहालीलाग्दो चित्र देखाउँछ।  

निगमको ५४ अर्ब जायजेथा पनि खासमा आफैंले आर्जेको होइन। यसका अधिकांश  जग्गा–जमिन सरकारले दिएका हुन्। जहाज प्राय: सरकारकै जमानीमा किनिएका हुन्। त्यति गर्दा पनि यसले व्यापार गरेर खान किन सकेन ?

नेपाल एयरलाइन्ससँगै जन्मिएको थाई एयरवेजसँग ६१ वटा विमान भइसके। हाम्रो भने टाट पल्टिइसकेको छ, किन ? ‘नेपाल एयरलाइन्सको दयनीय वित्तीय अवस्था हुनुमा कमजोर व्यवस्थापन प्रणाली जिम्मेवार छ।

उड्डयन जानकारहरूलाई भन्दा पनि बाहिरबाट आएकालाई व्यवस्थापन दिँदा नै निगम डुब्न गयो’, निगममै काम गरिसकेका क्याप्टेन.डीके बुद्धिष्ट भन्छन्। 

आराम गर्छन् जहाजजति 
निगमको मुख्य कमाइको स्रोत जहाज उडाउनु नै हो। निगमसँग भएका १३ जहाजमध्ये ७ वटा ग्राउन्डेड छन्। बाँकी ६ जहाजले निगमको वित्तीय दायित्वलाई काँध दिन सकिरहेका छैनन्। दिऊन् पनि कसरी ? उड्नुभन्दा पनि थन्किएर बसेपछि। उडान भर्न योग्यमा २ वटा न्यारोबडी, एउटा वाइडबडी र ३ वटा ट्वीनटर जहाज हुन्। 

निगमका बाह्य उडान भर्ने जहाजहरूले दैनिक ५६ घण्टासम्म उडान भर्न सक्छन्। तर, मुस्किलले १० घण्टा पनि उडेका छैनन्। आन्तरिकतर्फ पनि दैनिक करिब ४ उडान हुने गरेको छ। निगमको २०७५/०७६ को वित्तीय विवरणअनुसार त्यतिन्जेल यसले १ अर्ब ९६ करोड रुपैयाँ घाटा व्यहोरेको थियो। निगमको घाटा वार्षिक करिब २ अर्ब नजिक पुगेको छ। समीक्षा अवधीमा सञ्चित घाटा ५ अर्ब ५३ करोड रुपैयाँ छ। ऋणभारसँगै निगमको हालसम्मको सञ्चित घाटा १० अर्बको हाराहारीमा छ। 

निगमको अर्को आम्दानीको स्रोत भनेको ग्राउन्ड ह्यान्डलिङ हो। निगमले यसबाट मात्रै मासिक करिब ३५ करोड रुपैयाँ उठाउँदै आएको थियो। तर, अहिले सीमित अन्तर्राष्ट्रिय उडानका कारण यो निकै घटेको छ। फलत: ६३ वर्षे इतिहास बोकेको मुलुकको पहिलो हवाई सेवा प्रदायक संस्था निगम यतिबेला आर्थिक चपेटामा छ। नयाँ जहाज किन्ने रटानमा रहेको निगमले भएका जहाजलाई सही व्यवस्थापन गर्न नसक्दा ऋण भार हरेक वर्ष थपिँदो छ। 

चीनबाट ल्याइयो, थन्क्याइयो आन्तरिक उडानमा आक्रमक रूपमा अघि बढाउने भन्दै निगमले २०७१ मा ६ वटा चिनियाँ जहाज भित्राएको थियो। तीमध्ये एमआई ६० र वाई १२ मोडलका १/१ वटा चीन सरकारले अनुदानमा दिएको हो। बाँकी ४ वटा जहाज जीटूजी (सरकारद्वारा सरकारसँग खरिद) प्रणालीअन्तर्गत चीनकै एक्जिम बैंकसँगको सहुलियतपूर्ण ऋणमा खरिद गरेको थियो। अर्थ मन्त्रालयको मध्यस्थतामा सहुलियतपूर्ण ऋणमा जहाज खरिद गरिएको थियो। निगमले उडाउन नसक्ने निर्णय गरेका ६ वटामा ४ वटा चिनियाँ जहाजको ऋण करिब ४ अर्ब रुपैयाँ छ। उडान भरेको ५ वर्षमा पनि करिब साढे २ अर्ब घाटा भएको निगमको तथ्यांक छ। २०७७ कात्तिकबाट पहिलो किस्ता तिर्नुपर्नेमा निगमले सोही वर्षको साउनबाट नै ती विमान थन्काएको हो। 

चिनियाँ जहाज उडाउन प्रशिक्षित पाइलट उपलब्ध हुन नसक्नु, तालिम खर्च अन्य जहाजको तुलनामा चार गुणा बढी हुनु, पाइलटले तालिम प्राप्त गर्ने समय प्रशिक्षक पाइलटबाट नपाउनु, बिमा शुल्क महँगो लगायतका कारण निगमले उक्त जहाज थन्काएको हो। तर, क्षमताको १० प्रतिशत पनि जहाज नउडाएर घाटाको बहाना देखाउने काम मात्र भएको त्यहींका एक वरिष्ठ पाइलट बताउँछन्। 

ठूला जहाज : सेता हात्ती 
२०७५ सालमा २ वटा न्यारोबडी भित्र्याएको निगमले पछिल्लो वर्ष २ वटा वाइडबडी जहाज किनेको हो। एयरबस ३२० ले भारतको दिल्ली, बम्बई, बैंगलोर, दुबई, हङकङ, मलेसिया जस्ता मुलुकहरूमा उडान भरेको थियो।  दिल्ली दिनमा ३ वटा उडानसम्म गरेको उक्त एयरबस दिनको १४ घण्टासम्म पनि उडेको थियो। 

पछि २ वटा वाइडबडी आयो। लामोदुरी मात्र उडान भर्न सक्ने हुँदा अहिले नै निगमलाई आवश्यक नभएको टिकाटिप्पणीकाबीच आएको वाइडबडी साँच्ची नै सेतोहात्तीमा नै परिणत भएको छ। निगमले वाइडबडी किन्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। त्यसका साथै कर्मचारी सञ्चयकोषबाट २ वटा न्यारोबडीका लागि ९ अर्ब ४० करोड ऋण लिएको थियो। ती सबैको गर्दा सञ्चयकोषलाई २३ अर्ब ५६ करोड तिर्न बाँकी छ।  ब्याज मात्र सञ्चय कोषलाई २ अर्ब ३४ करोड तिर्नुछ। नागरिक लगानी कोषको तिर्न बाँकी रकम भने १३ अर्ब ८१ करोड छ। 

तर, २ वटा वाइडबडी ३३० मध्ये एउटा एयरबस ए३३०–२०० मकालुको इन्जिन बिग्रिएर गत माघबाट नै थन्किएको छ। करिब २ महिनाअघि नै मलेसिया बनाउन लगिएको भए पनि उताबाट फिर्ता नआएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए। न्यारोबडी लगातार बढीमा ४ घण्टाको उडानका लागि हो भने वाइडबडी करिब १६ घण्टासम्म उडाउन सकिन्छ। अहिले एउटा वाइडबडी र २ वटा न्यारोबडिले दोहा, दुबई, क्वालालम्पुर र मलेसियामा उडान भर्दै आइरहेका छन्। तिनले मात्र यिनको उडान अवधि पुग्दैन। अवधि नपुगी व्यापार हुन्न। 

जहाज ग्राउन्डेड हुँदा गरिरहेका गन्तव्य उडानहरूमा पनि कटौती भएको देखिन्छ। यी जहाज दिनमा ५६ घण्टासम्म उड्नु पर्नेमा अहिले १० घण्टा पनि उडेका छैनन्। यदि यी ४ जहाज पूरा क्षमतामा उडाउने हो भने मासिक टिकट शुल्कबाट मात्रै करिब ३ अर्ब संलकन हुने देखिन्छ। यसमा २ प्रतिशत मात्र नाफा छुटाउँदा पनि मासिक ६ करोड नाफा हुन्छ। 

अर्को, हाम्रो प्रतिस्पर्धी भनेको इन्डियाको एयर इन्डिया, स्पाइस जेट र इन्डिगो थियो। उनीहरूसँग न्योरोबडी मात्र थियो। यात्रुहरूको रोजाइमा वाइडबडी पर्न सक्थ्यो। इन्डियाले न्यारोबडीबाट पठाएका गन्तव्यमा प्रतिस्पर्धा गर्न हामीले वाइडबडी पठाउन सक्थ्यौं। तर, निगमका जानकारहरूले वाइडबडी २७९ सिट क्षमताले सर्ट सेक्टर उड्दा घाटामा जान्छ भन्ने कथनले अहिले गन्तव्य खुम्चिएको छ। वाइडबडी सानो दुरीमा उडेर पनि कमाएको थुप्रै उदाहरणहरू छन्। जस्तो संसारको सबैभन्दा ठूलो जहाज थ्रीएडी एक्स्ट्रा वाइडबडी ६०० सिट क्षमता दुबईबाट मस्कट २५ मिनेटको उडान गर्छ। दोहाबाट बहराइन २० मिनेटको फ्लाइट गर्छ। सिंगापुरबाट क्वालालम्पुर २५ मिनेटको फ्लाइट गर्छ। 

जहाज भएर पनि प्रतिस्पर्धी बजारमा उत्रन निगम व्यवस्थापनको योजना नभएको देखिन्छ। निगम अहिले कोभिडका कारण घाटा बढेको बताउँछ। तर, कोभिडअघि कतार एयरवेजले दोहा काठमाडौं दैनिक ४ वटा उडान भथ्र्यो। तर, निगमले एउटा गथ्र्यो। दुबईबाट–काठमाडौं अरू एयरलाइन्सको दिनमा ९ वटा उडान हुन्थे। निगमले सातामा ४ वटा गर्दै आएको थियो।

जब छिर्‍यो राजनीतिक धमिरो
२०१५ असार १७ गतेबाट डीसी–३ विमानका साथ स्थापना भएको निगमसँग हाल २ वटा वाइडबडी, २ वटा न्यारोबडी, ६ वटा चिनियाँ जहाज र ३ ट्वीनटरसहित १३ विमान छन्। डगलस डीसी–३ ’डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। 

कुनै समयमा निगमले उडानमार्फत मुलुकका विकट भौगोलिक क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय जगतलाई पनि नेपालसँग जोड्ने र आर्थिक समृद्धिको संवाहको भूमिका खेलेको थियो। २०४३ मा भित्राएको बोइङ ७५६ विमान त्यतिबेला दक्षिण एसियामा नै प्रविधियुक्त विमानमध्ये एक थियो। २०४६ यता खुल्ला नीतिले नेपाली आकशमा आन्तरिक तथा बाह्य निजी प्रदायक कम्पनीहरूको आगमनपछि भने निगम प्रतिस्पर्धी बजारमा उत्रन नसकेको देखिन्छ। 

एकताका १२ वटासम्म ट्वीनअटर विमान, दुई बोइङ ७२७ र दुई एभ्रो भएको निगमको अहिले जहाज संख्या मात्र होइन सेवा क्षेत्र पनि साघुरिँदै गएको छ। निगमका जहाजले लण्डनदेखि फ्र्यांकफर्ट, टोकियोको नारिता, दक्षिण अफ्रिका, अष्ट्रेलिया र दक्षिण एसियाका सबै मुलुकहरूमा उडान भर्ने गर्थे। कोरोना अघिसम्म आन्तरिक र बाह्य गरी ३६ गन्तव्यमा उडान भर्दै आएको निगमले अहिले आन्तरिक तर्फ ७ र अन्तर्राष्ट्रियतर्फ ४ गन्तव्यमा सीमित उडान गर्दै आएको छ।

उड्डयन क्षेत्रमा स्वर्णयुग पनि देखाएको निगमले त्यो बेला अमेरिकका उडानको लक्ष्य पनि साधेको थियो। २०४६ साल पछिको प्रजातन्त्र निगमलाई भने सुट गरेन। प्रजातन्त्रसँगै निगमभित्र मौलाएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार, कुशासन जस्ता कारण निगमको अधोगति सुरु भएको देखिन्छ। अन्नपूर्ण पोष्ट

प्रतिक्रिया