जानकीको वडा नम्बर ५ बाल बिवाहा मुक्त वडा घोषणा

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाको वडा नं.५ लाई बालविवाह मुक्त वडा घोषणा भएको छ ।

शनिबार एक कार्यक्रमका बीच जानकी गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालको प्रमुख आतिथ्यमा सम्पन्न बालबिवाह मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष धितालले अब जानकीका बाकि वडाहरु पनि छिट्टै बालबिवाह मुक्त वडा घोषणा गरेर बालबिवाह मुक्त पालिकाको रुपमा जानकी गाउँपालिका हुने बताउनुभएको छ ।

शिक्षाको कमिको कारण बालबिवाह हुने गरेको र केही सामाजिक रितिरिवाज पनि बालबिवाहको कारण रहेको बताउदै सामाजिक बिकास र जनचेतना संगै बालबालिका मुक्त वडा घोषणा गर्न जानकी सफल रहेको कार्यबाहक अध्यक्ष भुमिसरा धितालले बताउनु भयो ।

हामी सबैको एक्यवद्धता, बाल बिवाह विरुद्धको साझा प्रतिबद्धता भन्ने नाराका साथ जानकी गाउँपालिका वडा नम्बर ५ मा बाल बिवाह मुक्त घोषणा सभामा बालबिवाह विरुद्ध एक्यवद्धता जनाउदै सामुहिक हस्ताक्षर समेत गरिएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी समेत रहेका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहको रुपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश बर्माको अध्यक्षतामा सम्पन्न नेकपा एमालेका नेता पदल धितालको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा जानकी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुख कल्पना गाहा, शिक्षा तथा खेलकुद शाखाको प्रमुख प्रतिभा ओली, प्लान इन्टरनेसनलका प्रतिनिधि, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, इप्रका खजुराखुर्दको कार्यालय प्रमुख रुद्र बहादुर रावल, वडा सचिव शिव बहादुर थापा लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि समेतको उपस्थिति रहेको समाजसेवी मनमोहन बर्माले जानकारी दिनुभएको छ ।

जानकी गाउँपालिकाको वडा नं. १ , २ र ४ यसअघि नै बालविवाह मुक्त वडा घोषणा भइसकेको छ ।

जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बाँके जिल्लाको आठ वटै स्थानीय तहमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।

प्रतिक्रिया