मानव बेचबिखनको जालो :नेपालगन्ज नाका पार गरेको प्रतिब्यक्ती १० हजार

रामु ओली : भारत हुँदै महिलाहरूलाई रोजगारीका लागी तेस्रो मुलुक पठाउने गिरोह सक्रिय भए संगै नेपालगन्ज सिमानाका भएर भारत हुँदै तेस्रो मुलुक जाने महिला तथा युवतिहरुको संख्यामा वृद्धि भएको पाइएको छ ।

प्रहरी, प्रशासन र मानव बेचबिखन बिरुद्ध कार्य गर्ने संघ संस्थालाई झुक्याउन नसकेका केही घटना मात्रै बाहिरिने गरेको छ । नेपालगन्ज सिमानाका भएर पुर्वी पहाडी जिल्ला तथा सुदुर पश्चिमका जिल्लाहरुका युवतीहरु सिमा पार गर्ने गरेको र बाँके तथा बर्दिया जिल्लाको हकमा भने अन्य जिल्लाको सिमा प्रयोग गर्ने गरेको पाइएको छ ।

घटना एक
गत माघ महिना सोलुखुम्बु जिल्लाको दुई जना युवतीहरु परिवर्तित नाम (सबिना र सानी) सोलुखुम्बुबाट काठमाडौं र त्यसपछि नेपालगन्ज आएर बस्छन् । सोलुखुम्बुबाट एकजना चिनजानको ब्यक्तिबाट काठमाडौं आएका उनिहरु पुनः अर्का ब्यक्तीको जिम्मामा काठमाडौंबाट नेपालगन्ज आए । करिब २ हप्ताको नेपालगन्ज बसाई पछि नेपालगन्जको सिमावर्ती बजार रुपईडिहा जाने क्रममा शान्ती पुनःस्थापना गृह नेपालगन्जले अस्वभाविक लागेर केरकार गर्दा दुई जना युवती नेपालगन्जको नाका भएर भारत हुँदै तेस्रो मुलुक जादै गरेको बताएका थिए । उनीहरुको असली उमेर १६-१७ को भए पनि उनिहरु संग भएको पासपोर्टमा भने २२ बर्ष उल्लेख गरिएको थियो । यो घटना २०७७ माघ ८ गते नेपालगन्ज सिमानाकाको घटना हो, शान्ती पुनःस्थापना गृह नेपालगन्जका परामर्शदाता कमला थापाले बताउनुभयो ।

उनिहरुलाई सोलुखुम्बुबाट काठमाडौं सम्म एकजना ब्यक्तिले जिम्मा लिएका थिए भने काठमाडौंबाट नेपालगन्ज सम्मको जिम्मा भने अर्कै पुरुषले लिएका थिए । त्यस्तै नेपालगन्जबाट रुपईडिहासम्मको जिम्मा भने अर्कैले लिएका थिए ।

घटना दुई
बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ४ का एक युवती (नाम खुलाइएको छैन) कोहलपुर घर बताउने चिनेजानेको एक महिलाको सम्पर्क पछि बिहेको लागि कंचनपुर पुग्छिन । ती युवतिलाई बिहेको लागि भनेर एक युवकको फोटो समेत देखाइएको थियो । कोहलपुरका एक महिलाले ती युवतिलाई कंचनपुरसम्मको जिम्मा अर्का ब्यक्तिलाई दिए जसले उनलाई कंचनपुर पुराए । कंचनपुर पुगेपछी फोटोमा देखाइएको ब्यक्ती नभएर अर्कै ब्यक्ती देखा परेपछि उनले प्रतिबाद गर्न थालिन । विभिन्न प्रलोभन तथा धम्कीको कारण उनी चुपचाप लागिन ।

केही दिनको कंचनपुर बसाई पछि गड्डा चौकि नाका भएर अर्कै ब्यक्तिले सिमा कटाउने क्रममा शान्ती पुनःस्थापना गृहका खटिएका कर्मचारीले बोलचाली तथा क्रियाकलाप अस्वभाविक लागेपछि गरिएको केरकारमा ती युवतिले आफू फसेको कुरा बताइन् । त्यसको केही दिनपछि उनलाई शान्ती पुनःस्थापना गृह नेपालगन्ज ल्याइयो । हाल उनी काठमाडौंमा छिन् । यो घटना २०७८ भदौ महिनाको घटना हो ।

यी र यस्ता घटना सिमानाकामा हुने प्रतिनिधि घटना मात्रै हुन् । पुनःस्थापन गृह नेपालगन्जका परामर्शदाता कमला थापा बताउनुहुन्छ ।

प्राय गरि पुर्वी पहाडी जिल्लाका महिला तथा युवतिहरु नेपालगन्ज नाका भएर लैजाने गरेको पाइएको छ भने बाँके बर्दियाका युवतिहरुलाई पुर्वी नाका तथा सुदुरपश्चिम जिल्लाका नाका भएर लैजाने गरेको पाइयो । थापाले बताउनुभयो ।

२०७७ असोज देखी १६६ जनाको उद्दार, ५ जना बिरुद्ध मुद्दा  दर्ता

शान्ती पुनःस्थापना गृह शाखा कार्यालय नेपालगन्ज २०७७ असोज १ गते नेपालगन्जमा स्थापना भएको हो । स्थापनाकाल देखि हालसम्म श्रावण महिनासम्म ३ हजार ३ सय बढीलाई परामर्श प्रदान गरेको छ भने ५ जना बिरुद्ध मानवबेचबिखन बिरुद्ध मुद्दा  दर्ता गरेको छ ।

त्यस्तै नेपालगन्ज सिमानाकाबाट मात्रै १६६ जनाको उद्दार गरेको शान्ति पुनःस्थापना गृह नेपालगन्जका सुपरभाइजर डोलमाया गुरुङले बताउनुभयो ।

नेपालबाट दैनिक रुपमा भारत जाने युवती तथा बालबालिका नेपालगन्ज नाका भएर भारत तथा तेस्रो मुलुक बेचबिखन हुनसक्ने सम्भावनालाई रोक्न नाकामा सादा पोशाक समेत परामर्शदाता खटिने गरेको र दैनिक रुपमा परामर्श दिने गरेको तथा महिनामा सरदर ३०-३२ वटा केशहरु आउने सुपरभाइजर गुरुङले बताउनुभयो ।

भित्री नाकामा समेत परामर्शदाता परिचालन

शान्ती पुनःस्थापना गृह नेपालगन्जले बाँकेको नेपालगन्ज – जमुनहा सिमानाका बाहेक नरैनापुरको सुईया नाका, डुडुवा गाउँपालिकाको खडैचा नाका र जानकी गाउँपालिकाको बढैया सिमानाकामा समेत एक एक जना परामर्शदाता राखी आफ्नो उपस्थिति जनाउदै मानव बेचबिखन बिरुद्ध आफ्नो अभियान संचालन गर्दै आएको गुरुङले बताउनुभयो ।

भारतको उन्नाउबाट उद्दार

शान्ती पुनःस्थापना गृह नेपालगन्जले भारतको विभिन्न संघ संस्था संगको सहकार्यमा भारतको विभिन्न शहरमा श्रम शोषणमा परेका बालबालिका तथा महिलाहरुको समेत उद्दार गर्दै आएको छ ।
गृहले भारतको उन्नाउ भन्ने स्थानबाट बर्दियाका १ र कैलालिका ३ जना बालबालिकाको उद्दार गरेको पुनस्थापना गृहका परामर्शदाता सावित्रा पुनले बताउनुभयो ।

उनिहरु करिब ६-७ महिना देखि श्रम शोषणमा परेको सुचना पछि हामिले भारतको प्रहरी र सामाजिक क्षेत्रमा कार्य गर्दै आएका केही संघ संस्थाहरु संग समन्वय गरेर उनिहरुको उद्दार गर्न सफल भयौ । तर भारतबाट उद्दार गर्न भने त्यति सहज छैन । नेपालमा जस्तो प्रहरी प्रशासन तथा अन्य संघ संस्था संगको जस्तो समन्वय कायम गर्न सहज छैन तै पनि हामिले त्यस्ता उजुरी वा सुचना पाए सम्म प्रयास गर्दै आएका छौं । पुनःस्थापना गृहका परामर्शदाता पुनले बताउनुभयो ।

नेपालगन्ज नाका पार गरेको प्रतिब्यक्ती १० हजार

नेपालको विभिन्न जिल्ला अझ बिशेषगरि पुर्वी नेपालका पहाडी जिल्लाबाट नेपालगन्ज सिमानाका भएर मानव बेचबिखनको कार्य हुँदै आएको खुलेको छ । अन्य जिल्लाबाट काठमाडौं र काठमाडौंबाट नेपालगन्ज ल्याएर नेपालगन्जबाट सिमा पार गर्ने घटना धेरै रहेको परामर्शदाता कमला थापाले बताउनुभयो । अन्य जिल्लाबाट युवतीहरु नेपालगन्ज ल्याएर नेपालगन्जमा केही हप्ता सम्म राखेर, नेपालगन्जका स्थानिय ठाउँ, बोलचाली र रहनसहनमा भिजाउने गरेको पाइयो । थालाले बताउनुभयो ।

नेपालगन्ज वा आसपासका स्थानियहरु साधारणरुपमा किनमेलको लागि सिमापारी जाने भएको त्यस्तोमा सुरक्षाकर्मी तथा मानव बेचबिखनको बिरुद्ध कार्य गर्ने संघ संस्थाको आँखा छल्नको लागी स्थानिय भेषभुषा तथा रहनसहन र लामो यात्राको आभास हुने खालको कुनै पनि गतिविधि नगरेरै नाका पार हुने गरेको छन् । जसको लागि नेपालगन्जमा केही दिन राखेर घुमाउने र स्थानिय जस्तै बनाउने गरेको बताउछन् थापा ।

यता नेपालगन्ज भएर भारतिय सिमावर्ती बजार रुपईडिहा पुराए बापत प्रतिब्यक्ती १० हजार सम्म लिने गरेको खुलेको छ ।

प्रतिक्रिया