नेपालगन्ज नाका भएर दसैँ मनाउन घर फर्किनेको लर्को

नेपालगन्ज : दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेका छन् ।

दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए।

उनका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको सङ्ख्या धेरै छ । दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।

स्थानीय तथा प्रदेश सरकारले कामका लागि भारत जानेको सङ्ख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन ।

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् ।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या अधिक छ ।

प्रतिक्रिया